Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युतीय वित्तिय सेवाको प्रवद्र्धन अपरिहार्य

विद्युतीय वित्तिय सेवाको प्रवद्र्धन अपरिहार्य

काठमाडौं, २६ फागुन । नेपाल आर्थिक पत्रकार समाजले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसीडीएफ) र नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा ‘विद्युतीय वित्तिय प्रणालीमा केन्द्रीय बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा सञ्चालकसेवा प्रदायकको भूमिका’ विषयमा शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका छ । कार्यक्रममा बोल्दै विभिन्न सरोकारवालाहरुले विद्युतीय वित्तिय प्रणालीले बैंकिङ सेवाको पहुँच नपुगेको ठूलो जनसंख्यालाई लाभ पुर्याउने उल्लेख गर्दै यो माध्यमबाट बचत खाता, कर्जा प्रवाह र बीमा सेवा प्रवाह गर्न सकिने बताएका छन् । विद्युतीय वित्तिय सेवा प्रवाहको पर्यावरणभित्र रहने प्रत्येक पक्षको प्रभावकारी भूमिकाले मात्र मजबुत वित्तिय प्रणाली निर्माण गर्न सकिने बताइएको थियो ।
‘विद्युतीय वित्तिय प्रणालीलाई मजबुत बनाउन यसको पारिस्थिति पद्धतिभित्र बस्ने सबैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्छ,’ यूएसीडीएफका मोबाइल मनी फर पोर कार्यक्रममा विज्ञ अहमद दर्मिसले भने, ‘विद्युतीय भुक्तानी प्रभावकारी भए यसले विद्युतीय वित्तिय सेवालाई मजबुत बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्छ ।’
मानिसहरुलाई यो सेवामा अभ्यस्त बनाउन सरल, प्रभावकारी, विश्वनीय सुविधा प्रदान गर्नुपर्ने र यसका नियामकले केही लचकता अपनाउनुपर्ने बताए ।
बैंक तथा वित्तिय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकले पनि यो सेवा विस्तारलाई अनुकुल हुने वातावरण निर्माण गरी विद्युत्तिय वित्तिय सेवको प्रयोगलाई विस्तार गर्दै लैजाने बताएको छ । केन्द्रीय बैंकका सहायक निर्देशक पदमराज रेग्मीले केन्द्रीय बैंकले विद्युतीय वित्तिय प्रणालीको विस्तारका लागि वित्तिय संस्था तथा भुक्तानी सेवा सञ्चालकसेवा प्रदायकहरुलाई नियमन गर्ने छुट्टै विभाग — भुक्तानी प्रणाली विभाग स्थापना गरेको भन्दै भुक्तानी सम्बन्धि काम गर्ने संस्थाहरुको इजाजतपत्र सम्बन्धि नीति तथा नियमनको व्यवस्था भैसकेको जानकारी दिए । ‘केन्द्रीय बैंकले अब खुद्रा भुक्तानीका कारोबार सीमा, निरिक्षण नियमावली तथा राष्ट्रिय भुक्तानी गेटवेका सम्बन्धमा काम गरिरहेको छ ।’
रेग्मीका अनुसार, राष्ट्र बैंकले दुई ओटा भुक्तानी सेवा प्रदायक, तीन भुक्तानी सेवा सञ्चालक र १३ मोबाइल वालेट सञ्चालकहरुले सेवा प्रदान गर्दै आएका छन् । त्यस्तै १०३ फर्महरुले मोबाइल वालेट सञ्चालनका लागि आवेदन दिएका छन् ।
दूरसञ्चारको विकाससँगै बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा विद्युतीय वित्तिय सेवा तीव्र रुपमा विस्तार हुने अपेक्षा यस क्षेत्रमा संलग्नहरु बताउँछन् । ‘अहिलेसम्म बैंकिङ सेवाको पहुँच ६० प्रतिशत जनतामा पुगेको छ, जबकी १३५ प्रतिशतमा मोबाइल फोन सेवाको पहुँच छ,’ आइएमइ डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ बताउँछन् । ‘केन्द्रीय बैंकले अनुकुल नीति बनाएको खण्डमा विद्युतीय वित्तिय सेवाले बैंकिङ पहुँच बाहिर रहेकाहरुलाई समेट्न सफल हुनेछ ।’
नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक अनूकुल भट्नागरले बैंक तथा वित्तिय संस्थाहरुले पनि नयाँ प्रविधिको माध्यमबाट बैंकिङ सेवाको पहुँच नपुगेका जनतामा विद्युतीय वित्तिय सेवा पुर्याउन लागिरहेको बताए । ‘बैंकहरुले आफ्नो हीत र ग्राहकको फाइदाका लागि प्रविधिमा लगानी गरिरहेका छन् । विद्युतीय वित्तिय सेवा सरल, सुलभ र विश्वसनीय बनाउन वित्तिय संस्थाहरुको महत्वपूर्ण भूमिका छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x