६ महिनामा वाणिज्य बैंकका १७७ शाखा विस्तार, लघुवित्तका सबैभन्दा धेरै थपिए
काठमाडौं, २९ माघ । चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकका १७७ वटा शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा देशभर वाणिज्य बैंकका कुल शाखा ४ हजार ४३६ वटा रहेकोमा ६ महिनामै उक्त संख्याले थपिएर ४ हजार ६१३ वटा पुगेका हुन् ।
७५३ स्थानीय तहमध्ये २०७७ पुससम्ममा ७४९ तहमा वाणिज्य बैंका शाखा विस्तार भएका छन् । २०७६ पुससम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७७ पुस मसान्तमा १४४ रहेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको शाखा ६ महिनामा ४२२ वटा थपिएका छन् । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा ९ हजार ७६५ रहेकोमा २०७७ पुस मसान्तमा १० हजार १८७ पुगेको छ, जसमध्ये वाणिज्य बैंकका बाहेक विकास बैंकका १ हजार ४८ र वित्त कम्पनीका शाखा २५४ वटा पुगेका छन् ।
चालू आवको ६ महिनामा लघुवित्त वित्तीय संस्थाका शाखा सबैभन्दा बढी थपिएका छन् । २०७७ असार मसान्तमा लघुवित्तका कुल शाखा ४ हजार ५७ वटा रहेकोमा ६ महिनामै २१५ वटा थपिएर ४ हजार २७२ पुगेका छन् । हालसम्म पूर्वाधार विकास बैंकको शाखा भने विस्तार भएको छैन ।