Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चालू आवमा सम्पन्न हुँदै ७०० मेगावाटका आयोजना, आगामी वर्ष प्रतिस्थापित होला विद्युत् आयात ?

चालू आवमा सम्पन्न हुँदै ७०० मेगावाटका आयोजना, आगामी वर्ष प्रतिस्थापित होला विद्युत् आयात ?

काठमाडौं, २ फागुन । हाल मुलुकको आन्तरिक उत्पादनले माग नधानेर भारतबाट पिक आवरमा झण्डै ७०० मेगावाटसम्म बिजुली आयात गर्नुपरेको छ । वर्षायाममा माग अनुसार आन्तरिक उत्पादन पर्याप्त भए पनि नेपालका अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा उत्पादन क्षमता घट्छ, जसले गर्दा नेपालले हिउँद याममा वर्षेनि भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । तर हाल निर्माणाधीन आयोजना लक्ष्य अनुसार सम्पन्न भएमा आगामी वर्ष विद्युत् आयात प्रतिस्थापित हुने अनुमान गरिएको छ ।

देशभर हाल करिब १ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तीमध्ये चालू आवमै सम्पन्न हुने लक्ष्यसहित अघि बढेका आयोजनाबाट ७०० मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

यस वर्ष सम्पन्न हुने अनुमान गरिएको ठूलो आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हो । प्राधिकरणका कार्यकारी प्रमुख हितमान शाक्यका अनुसार आउँदो वैशाखसम्ममा आयोजनाको पहिलो युनिटबाट उत्पादन शुरू गरिनेछ । त्यसपछि क्रमशः अन्य युनिट सञ्चालन गर्दै जाने योजना छ ।

यसैगरी चालू आवमै ४२ मेगावाटको मिस्ट्रीखोला, २७ मेगावाटको दोर्दीखोला, ३० मेगावाटको न्यादी, २५ मेगावाटको अप्पर दोर्दी ए, २५ मेगावाटको सिँगटी खोला, २० मेगावाटको तल्लो मोदी, २२ मेगावाटको अप्पर चाकु ए लगायत ७०० मेगावाट क्षमताका आयोजनाको निर्माण सम्पन्न हुने तयारीमा छन् ।

हाल मुलुकमा सञ्चालित जलविद्युत् आयोजनाबाट वर्षायाममा करिब १ हजार ४०० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । प्राधिकरणको लक्ष्य अनुसार निर्माणाधीन आयोजनाको प्रगति भएमा आगामी वर्ष मुलुकको जलविद्युत् आयोजनाको जडित क्षमता करीब २ हजार १०० मेगावाट पुग्नेछ । सोको तुलनामा विद्युत्को अधिकतम माग १ हजार ५०० मेगावाट हाराहारीमा मात्रै रहने अनुमान गरिएकाले हिउँदमा उत्पादन घटे तापनि आन्तरिक उत्पादनले माग धान्ने वा न्यून परिमाणमा मात्र आयात गरे पुग्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x