Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सम्पन्न हुने चरणमा भैरहवा विमानस्थल, पोखरा विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत

सम्पन्न हुने चरणमा भैरहवा विमानस्थल, पोखरा विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत

काठमाडौं, ५ फागुन । निर्माणाधीन राष्ट्रिय गौरवका दुई अन्तरराष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति उल्लेख्य रहेको पाइएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण पनि तीव्ररूपमा भइरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।

क्यानका अनुसार हालसम्म भैरहवा विमानस्थलको भौतिक प्रगति ९८.८ प्रतिशत रहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण ७० प्रतिशत सम्पन्न भएको छ ।

कोभिड महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका यी आयोजनाको प्रगति उल्लेख्य रहेको पर्यटनमन्त्री भानुभक्त ढकालले बताए । यी दुई अन्तरराष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनको भनाइ छ । विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिट्टै सक्ने योजनाका साथ काम अघि बढेको उनले बताए । ‘कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौं,’ मन्त्री ढकाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

मन्त्री ढकालका अनुसार अन्य विमानस्थल पनि व्यवस्थित र स्तरोन्नति गरिनेछ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने उनको भनाइ छ । यस्तै अन्तरप्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी उनले दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *