हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्ला

काठमाडौं, ५ फागुन । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै योग्यता पुगेका उम्मेदवारहरुबाट प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।

उक्त प्रमुख कार्यकारी अधिकृतका लागि ३५ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इञ्जिनियरिङ्ग, कानूनमा वाणिज्य वा कम्पनी कानून विषयमध्ये कुनै एकमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेको हुनुपर्ने छ ।

बैंकिङ्ग, वित्तीय, कोष व्यवस्थान वा ईञ्जिनियरिङ्गका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ठ प्रवन्धक, नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।

दरखास्त दस्तुर २ हजार ५०० रुपैयाँ लाग्नेछ । आवेदन फारम फागुन १९ गतेभित्र बुझाइ सक्नु पर्नेछ ।

त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी जलविद्युत कम्पनीहरुमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनी हो । यो कम्पनीले अहिले विद्युत विकास विभागबाट १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सो आयोजना विकास गर्न चीनको पावर कन्स्ट्रक्सन कर्पाेरेशन अफ चाइना लिमिटेड (पावरचाइना)सँग समझदारी पत्रमा हस्ताक्षर गरी ज्वाईन्ट भेञ्चर कम्पनी स्थापना गर्ने र आयोजना अध्ययनको प्रकृया अगाडि बढाएको छ । लगानी बोर्ड नेपालबाट सर्भे तथा अध्ययनको लागि अनुमति प्राप्त भएको ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको विकासको लागि पावर चाइनासँग समझदारीपत्रमा हस्ताक्षर भई संयुक्त ज्वाईन्ट भेञ्चरमार्फत सो आयोजना विकास गर्ने गरी आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ ।

यो कम्पनीको चुक्तापूँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को आसोज अन्तिमसम्ममा सहायक कम्पनीमा ७० करोड रुपैयाँ लगानी गरेको छ । मुद्दति निक्षेपमा १२ अर्ब ६१ करोड रुपैयाँ रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *