खाद्यान्नमा चुलिँदै परनिर्भरता, ६ महिनामै करिब ४२ अर्बको आयात
काठमाडौं, ९ फागुन । कृषिउपजमा मुलुकलाई आत्मनिर्भर बनाउन भन्दै विभिन्न नीति, कार्यक्रम ल्याइए पनि कार्यान्वयन फितलो हुँदा निर्धारित लक्ष्य टाढा बन्दै बन्दै गएको छ । आन्तरिक माग अनुसार उत्पादन हुन नसक्दा नेपालमा वर्षेनि अर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको तथ्यांकले कृषि क्षेत्रका कार्यक्रम प्रभावकारी हुन नसकेको पुष्टि गर्छ ।
खेतीयोग्य जमिनको खण्डीकरण, कृषि जनशक्ति पलायन, मल, बीउ, सिँचाइ, प्राविधिक तालिमको अभाव, परम्परागत शैलीकै खेतीप्रणाली लगायत कारण उत्पादन बढ्न सकेको छैन, जसले गर्दा मुलुकमा वर्षेनि दोब्बर मात्रामा खाद्यान्न आयात बढिरहेको सरकारी तथ्यांकले नै देखाएका छन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा करिब ४२ अर्ब रुपैयाँ बराबरको मुख्य खाद्यान्न भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ५४ प्रतिशतले बढी हो । पुस मसान्तसम्ममा कुल ४१ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको खाद्यान्न (चामल, धान, मकै, गहुँलगायत) आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात २६ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ बराबरको थियो ।
उक्त ६ महिनामा सबैभन्दा बढी चामल र मकैको आयात भएको छ । यी दुई वस्तुको आयात क्रमशः १६ अर्ब ६८ करोड ९४ लाख र १४ अर्ब १२ करोड ६४ लाख रुपैयाँ बराबरको भएको छ । यस्तै ७ अर्ब २६ करोड २९ लाख रुपैयाँ गहुँ र ८ अर्ब ४९ करोड ३० लाख बराबरको धान आयात भएको छ ।