एक्कासि किन घट्यो निफ्राको शेयरमूल्य ?

काठमाडौं, ११ फागुन । दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर मूल्य मंगलवार एक्कासि १० प्रतिशतले घट्यो । अघिल्ला दिनसम्म १० प्रतिशतकै दरले बढेको कम्पनीको शेयरमूल्य सोही अनुपातमा घटेपछि यसका लगानीकर्ता लगायत सबैलाई झस्काएको छ । यसले कम्पनीको शेयरमूल्यको वृद्धि स्वाभाविक थियो वा थिएन, किन घट्यो, आगामी दिनमा कसरी अघि बढ्ला भन्ने जस्ता प्रश्न एकसाथ उब्जाएको छ ।

कम्पनीको शेयरमूल्य ह्वात्तै घट्नमा एक किसिमको उचाइमा पुगिसकेको बजारमा ठूला लगानीकर्ताले बेच्न थाल्नु मुख्य कारण रहेको विश्लेषण गरिएको छ । बजार जहिले पनि माग र आपूर्तिमा आधारित रहने हुँदा हाल कम्पनीको शेयर बेच्न चाहने धेरै, तर किन्ने कोही नहुँदा स्वाभाविक रूपमा मूल्यमा गिरावट आएको हो ।

निफ्राको शेयरमूल्य एक्कासि घट्नुमा अर्थशास्त्री भरतसिंह थापा कम्पनीको शेयरमूल्य वृद्धि नै स्वाभाविक नभएको बताउँछन् । कम्पनीको आधारभूत पक्ष राम्रो नहुँदा नहुँदै पनि दिनदिनै सर्किट लाग्ने गरी शेयरमूल्य बढ्नुमा ‘हौवा’ले काम गरेको उनको बुझाइ छ । यसमा ठूला लगानीकर्ताले म्यानिपुलेट गरेको हुन सक्ने समेत उनी बताउँछन् । ‘निफ्राको शेयरलाई नेपाल पुनर्बीमा कम्पनीको जस्तै हो भन्ने हौवा पिटाएर मूल्य बढ्छ, १५–१६ सयसम्म पुग्छ भनेर शेयर किनाएर ठूला लगानीकर्ताहरूले धेरै कमाइसके,’ उनले भने । यसको मारमा साना लगानी पर्ने भन्दै राम्ररी बुझेर मात्र लगानी गर्न उनको सुझाव छ ।

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भने निफ्राको शेयरमूल्यको यसअघिको वृद्धिलाई स्वाभाविक नै ठान्छन् । लगानीकर्ताले कम्पनीको आगामी भविष्य हेरेर लगानी गरेको हुन सक्ने उनको बुझाइ छ । यस्तै ‘बजार अझै माथि जान्छ’ भन्ने हिसाबले खरीद गर्न चाहनेहरु बढ्दा मूल्य बढेको र समग्र नेप्से परिसूचकमा आएको कमीले आत्तिएर लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा मूल्यमा ह्रास आएको उनी बताउँछन् ।

नेप्सेमा निफ्राको २० करोड कित्ता शेयर सूचीकृत छ । २० अर्ब चुक्तापूँजी भएको यस कम्पनीको आईपीओ १४ लाख ७५ हजारले पाएका थिए ।

पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्य लिएको कम्पनीले २८ माघ २०७५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार शुरु गरेको थियो । सानो निक्षेप (१ करोड रुपैयाँभन्दा कम) नलिने यो बैंकले हालसम्म ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यसमध्ये धेरै कर्जा जलविद्युत् आयोजनाहरुमा छ ।

बैंकले हालसम्म ११० मेगावाटका चारवटा जलविद्युत् आयोजनामा ५ अर्ब ४० करोड र २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा एक अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, सिमेन्ट उद्योगमा एक अर्ब ५० करोड र निर्माणाधीन पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी गरेको बैंकले बताएको छ । बैंकमा सरकारसहित संस्थापक सेयरनीहरुको स्वामित्व ६० र सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *