बुधबार पनि शेयर बजार घट्यो, परिसूचक २४१६ विन्दुमा

काठमाडौं, १९ फागुन । बुधबार (आज) शेयर बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार (हिजो) ५९.७० अंकले घटेको नेप्से परिसूचक आज ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको छ ।
आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेको भएको छ । यो कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै आज यो कम्पनीको शेयर बढी खरिद विक्री भएको हो । यो यो कम्पनीको २९ करोड ९७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज साल्ट ट्रेडिङ कर्पाेरेशनको प्रतिशेयर मूल्य १० हजार २२२ रुपैयाँ पुगेको छ । त्यस्तै चन्द्रागिरि हिल्सको प्रतिशेयर मूल्य ५५० रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ समूहमध्ये उद्योग र होटल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । आज उद्योग समूहको ९.२६ प्रतिशतले र होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले वृद्धि भएको छ ।