टान र एनएमएबाहेक पर्यटनसँग सम्बद्ध अरु संस्थाहरुले समेत पर्यटकको भिषा सिफारिस गर्न सक्ने
काठमाडौं, २३ फागुन । नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) बाहेक पर्यटन सम्बद्ध अन्य संघ संस्थाहरुको सिफारिसका आधारमा पर्यटक भिषा दिने भएको छ । यसका लागि ती संघसंस्थाहरुले वोर्डले तोकेका आवश्यक कागजपत्र पेश गर्नुपर्ने छ ।
पर्यटकको भिषा सिफारिसको लागि सम्बन्धित संस्थाले पर्यटकको नाम, पासपोर्ट नं., प्रमाणीत गरेको सिफरिस पत्र, पर्यटकको पासपोर्टको प्रतिलिपी र पर्यटकको नेपाल भ्रमण तालिका बोर्डमा बुझाउँनु पर्ने हुन्छ ।
त्यस्तै पर्यटकले कम्तीमा पाँच दिन होटल क्वारेन्टाइनमा रहने गरी बुकिङ्ग गरेको खुल्ने कागजातको प्रतिलिपी संस्थाले कागजपत्रमा उल्लेख गर्नुपर्ने नेपाल पर्यटन बोर्डका प्रवक्ता मणी लामिछानेले जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई टिकट बुक गरेको पत्र, पर्यटकको ट्रावल इन्स्योरेन्स पनि सम्बन्धित संस्थाले संलग्न गर्नुपर्ने छ ।
त्यसैगरी सम्बन्धित कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि र आर्थिक वषृ ०७५/०७६ सम्मको कर चुक्ताको प्रमाणपत्र पनि कम्पनीले संलग्न गर्नुपर्ने छ ।
यस अघि बोर्डले एनएमए र टानबाट मात्र प्राप्त सिफारिसका आधारमा पर्यटक भिषाको लागि अनुमति प्रदान गर्दै आएको थियो ।