Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंकिङ घोटालामा एकैपटक १३६ विरुद्ध मुद्दा दायर

बैंकिङ घोटालामा एकैपटक १३६ विरुद्ध मुद्दा दायर

काठमाडौं, २६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी एकैपटक १३६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै ४० करोड बराबरको घोटाला भएको तथ्यसहित मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्स समेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौं तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ । उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ ।

आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअनाएको पाइएको छ । लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्यांकन गर्दासमेत बदनियत राखिएको पाइएको छ ।

आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ । आयोगले कूल ११ मुद्दामा फरक फरक रूपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएको राससमा उल्लेख छ । उनीहरु विरुद्ध बिगोअनुसारको कारबाहीको माग गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x