सुनको आपूर्ति बढाउनेबारे सरकारले छिट्टै निर्णय गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं, २७ फागुन । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न सरकार तयार भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताए ।
माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेका थिए ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उनले बताए ।
अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने व्यवसायीको आग्रह छ । तर पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।