बाजुराको खप्तड छेडेदहमा हिमालयन बैंकको ‘एक घर : एक बैंक खाता’ अभियान सम्पन्न
बाजुरा, १ चैत । बाजुराको खप्तड छेडेदह गाउँपालिका ‘एक घर : एक बैंक खाता’ अभियान सम्पन्न गर्ने देशकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।
गाउँपालिकामा ३ हजार २ सय ३४ घरधुरी रहेका सबै परिवारको १ जनाभन्दा बढीको बैंकमा खाता खोलिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताए । २२ हजार १ सय ३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अवधिमा बैङ्कले उक्त अभियान अन्तर्गत ९ हजार ४ सय ७६ खाता खोली सञ्चालनमा ल्याइएको बैंकका प्रमुख सञ्चालन अधिकृत मीनेन्द्र प्रधानले जानकारी दिए । यस्तो खाता सञ्चालनमा ल्याउने हिमालयन बैंक पहिलो हो ।
वित्तीय चेतनामा अभिवृद्धि–सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताको लागि बैङ्क खाता मार्फत बचत वृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैङ्क मार्फत अभियान चलाएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए । गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच एक घर एक बैंक खाता अभियान सम्पन्न भएको घोषणा गरिएको हो ।
यसैबीच सोही गाउँपालिकाका विद्यालय तहका बालबालिकालाई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।