वसन्त सिजनका लागि आउन थाले आरोही, दुई समूहलाई अनुमति
काठमाडौं, ३ चैत । यस वर्षको वसन्त सिजनका लागि हिमाल आरोही आउने क्रम शुरु भएको छ । सोमवार मात्रै बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली आरोहणका लागि नेपाल आइपुगेको छ । उक्त टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् ।
दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागसमक्ष निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिएको राससमा उल्लेख छ । उनका अनुसार आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् । आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले बताएको छ । वसन्त यामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् । कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।
विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ । व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ ।
अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ । पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत धमाधम बुकिङ चलिरहेको छ ।