Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विकासशील मुलुकमा स्तरोन्नति : पूर्वाधार विकास र लगानीमैत्री नीति निर्माणमा जोड

विकासशील मुलुकमा स्तरोन्नति : पूर्वाधार विकास र लगानीमैत्री नीति निर्माणमा जोड

काठमाडौं, ४ चैत । अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुनु सुखद विषय भएको दक्षिण एशिया वाच, ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोनमेट (स्वाती)ले मंगलवार आयोजना गरेको वेबिनार कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा उनीहरूले एलडीसीको श्रेणीबाट नेपाल विकासशील मुलुकमा उक्लिनेबित्तिकै क्षेत्रीय र व्यापार सम्झौता गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि लगानी गन्तव्य बन्न सक्नुपर्ने बताए । स्तरोन्नतिपछि वैदेशिक व्यापार साझेदारहरूसँग नेपालले गर्ने सहकार्य गर्नुपर्ने भन्दै उनले पूर्वाधार सुदृढीकरण र लगानीमैत्री नीतिहरू निर्माणको आवश्यकता समेत औंल्याए ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. पोशराज पाण्डेले विकासशील मुलुकमा नेपाल स्तरोन्नति हुँदा नेपालले पाउँदै आएको भन्सार छूट लगायत सुविधा गुमाउँदा व्यापार घाटा बढ्न भन्दै सोही अनुसार रणनीतिक योजनासहित अघि बढ्नुपर्ने बताए ।

संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव चन्द्र आचार्यले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले ठूला व्यापार साझेदारसँग वार्ता गरेर निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पुष्पा भुसालले कोभिड महामारीले ल्याएका नयाँ कठिनाइहरुलाई ध्यानमा राखेर नीति र प्राथमिकताहरुको पुनः आकलन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त लक्ष्य प्राप्तिका लागि सरकारले निजीक्षेत्रको साथ लिएर अघि बढ्नुपर्ने बताए ।

महिला उद्यमी संघकी उपाध्यक्ष दर्शना श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको मूल्य श्रृंखनाको प्रमुख हिस्सालाई पनि ध्यानमा राख्नुपर्ने बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले विकासशील मुलुकमा स्तरोन्नति चुनौतीरहित नभएको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले विकासशील मुलुकमा स्तरोन्नति हुँदा यसले स्रोतका लागि अन्तरराष्ट्रिय पूँजीबजार जस्ता नयाँ अवसर सृजना गर्ने बताए ।
एलडीसी वाचका ग्लोबल कोर्डिनेर गौरी प्रधानले मानव सम्पत्ति सूचकमा गरिएको प्रगतिले नेपालले गरेको आर्थिक प्रगतिलाई चित्रण गर्ने तर ती दिगो छन् या छैनन् भन्ने महत्वपूर्ण प्रश्न भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x