३८ लाख २५ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता
काठमाडौं, ६ चैत । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता ३८ लाख २५ हजार नाघेका छन् । आन्तरिक राजस्व विभागको तथ्यांकलाई आधार मान्दै अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले सो अवधिसम्ममा प्यान लिने कुल करदाताको संख्या ३८ लाख २५ हजार ९४६ पुगेको देखाएको हो ।
उक्त अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १५ लाख १८ हजार ९३३ अर्थात् ३९.९ प्रतिशत रहेको छ । यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ लाख ९९ हजार ३०९ (६०.१ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ७ हजार ७०४ (०.२) प्रतिशत रहेको छ । सोही अवधिमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ७ हजार ८४५ पुगेका छन् ।
स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत आवको ७ महिनामा मात्रै ४ लाख ८८ हजार ४५४ थपिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४७.२८ प्रतिशत कम हो । गत आवको माघ मसान्तसम्मको अवधिमा यस्ता करदाता १० लाख ३२ हजार ९३३ थपिएका थिए ।