वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली
काठमाडौं, ११ चैत । आर्थिक वर्ष २०७७÷७८ को ८ महीनामा वार्षिक लक्ष्यको ५९ दशमलव ६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ, जुन फागुनसम्मको लक्ष्यको ९७ दशमलव ८० प्रतिशत हो ।
चैत ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । चालू आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीच राजस्वको लक्ष्य पूरा हुनेमा द्विविधा नरहेको दाबी गरे । पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै उनले लक्ष्यभन्दा बढी राजस्व असुल्नेगरी परिणाम निकाल्न निर्देशन दिए । यस्तै राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधि बढेको अवस्थामा राजस्वको लक्ष्य नपु¥याउने छूट नभएको बताए ।
मन्त्रालयका अनुसार फागुन महीनासम्ममा चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ, जुन वार्षिक बजेटको ४८ दशमलव १८ प्रतिशत हो । यस्तै पूँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । वार्षिक बजेटको तुलनामा यो २२ दशमलव ४४ प्रतिशत हो ।
अर्थसचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउन सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सृजना गरेको चुनौती सामना गर्न सहुलियत कर्जा, पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा लगायत कार्यक्रम ल्याइएको भन्दै सबैको मेहनतबाट उपलब्धिहरू हासिल भएको बताए ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले समग्रमा वित्तीय स्थिति सकारात्मक रहेको बताए । सो अवसरमा उनले आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरू विषयक प्रस्तुति दिएका थिए ।