कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाई
काठमाडौं, १२ चैत । पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड लागू गर्न कडाइ गर्ने भएका छन । होली पर्व नजिकिदै गर्दा सार्वजनिक स्थालहरुमा भिडभाड बढ्न सक्ने भएकाले कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रशासनको हिजो छुट्टाछुट्टै बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मेला, महोत्सव र भेला नगर्न, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । निर्देशन अवज्ञा गर्दै स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै नजिकिदै गरेको होली पर्व घरभित्रै परिवारका सदस्यहरुसँग मनाउन पनि प्रशासनले आग्रह गरेको छ । ललितपुरमा ११ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । सार्वजनिक यातायातका चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अवज्ञा गरेको पाइएकाले यातायात व्यवसायी, मजदुरलाई समेत सचेत गराइने जनाइएको छ।