नेपाली उड्ययन माथिको प्रतिवन्ध हटाउन परिसंघको माग
काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताए । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई बताए ।
अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडी बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा प्रकाश पारे । आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको भन्दै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउनु पर्ने धारणा राखे ।
नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पुर्याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अध्यक्ष मोरले अनुरोध गरे । त्यसैगरी भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यसतर्फ सहयोग पुर्याउन राजदूत डेप्रेजलाई अनुरोध गरे । सिप विकासबाटनै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सिप विकासमा सहयोग पुर्याउन आग्रह गरे ।