नेपालमा वार्षिक १५ अर्वको काठ आयात, सबैभन्दा बढी मलेसियाबाट
युवराज पन्त
काठमाडौं, २ चैत । नेपालमा वार्षिक १५ अर्व रुपैयाँ भन्दा बढीको काठ आयात हुने गरेको छ । नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघका अनुसार अहिले मलेसिया, बर्मा, चीन, इटाली थाइल्याड लगायतका देशवाट काठ आयात हुने गरेको छ । अधिकांश फर्निचर तथा गोलिया काठ मलेसियाबाट भित्रिने गरेको महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले जानकारी दिए । उनका अनुसार मलेसियाबाट मात्रै झण्डै दश अर्व रुपैयाँ बराबरको काठ आयात हुने गरेको छ ।
उद्यमीले यो क्षेत्रमा झण्डै २५ अर्व रुपैयाँ भन्दा बढी लगानी गरिसकेको बताए । त्यसमा झण्डै सात हजार उद्योगहरु रहेको र करिब दुईलाख नागरिकले यो क्षेत्रमा प्रत्यक्ष रोजगारी पाईरहेका छन् । नेपालमा काठको बार्षिक माग १० करोड क्यूफिट रहदैं आएको छ । तर नेपालबाटै आपूर्ति भने दुई दशमलब पाँच करोड क्यूफिट मात्रै रहेको छ । यसरी माग अनुसारको काठ आपुर्ति हुन नसक्दा झण्डै सात करोड क्यूफिट काठ विदेशवाट आयात भइरहेको छ ।
विभिन्न प्रकारका आयातित गोलिया काठ, तायारी ढोका तथा विभिन्न प्रकारका फर्निचर विदेशवाट आईरहेको महासंघको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अहिले झण्डै ४० लाख क्यूफिट काठ अनियमित तवरबाट चोरी, तस्करीको काठ समेत प्रयोग भईरहेको महासंघका अध्यक्ष ढकाल बताउछन् ।
नेपालमा बार्षिक १० देखि १२ करोड क्यूफिट काठ ब्यवस्थित रुपले निकाल्न सकिने उनले बताए । तराईमा मात्र ३ लाख हेक्टर साल प्रजातिको वन ब्यवस्थापन गर्न सकिएको खण्डमा बार्षिक १० करोड क्यूफिट काठ निकाल्न सकिने उनको भनाई छ । हाल सरकारी राजस्व दरको आधारमा प्रतिक्यूफिट आठ सय रुपैंया आधार मान्दा नै बार्षिक करिब ८ अर्व रुपैंया भन्दा वढी हुने अनुमान गरिएको छ । बिदेशवाट फर्निचर सामान आयात हुदैं गरेकोमा अहिले चिरान काठसमेत आयात भइरहेको ढकालले बताए ।