Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ

काठमाडौं, ३० चैत । मुलुकमा पछिल्लो सयम कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा संक्रमण पुष्टि भएको छ । एक महिनाअघि सोही अवधिमा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित पाइएको थियो । एक महिनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै संक्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि संक्रमणको रफ्तार तीव्र छ । ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी संक्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको संक्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।

यसपटक पनि विगतको पुनरावृत्ति हुने आशंका जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण दर ह्वात्तै बढिरहेको छ ।
भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हालैको बैठकले कोभिड संक्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x