महासंघ र चेम्बर संस्थागत सहकार्य र कार्यगत एकता गर्ने
काठमाडौं, ६ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् । निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुंदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनु पर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आव्हान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो संदेश गएको सो अवसरमा स्मरण गरिएको थियो ।
एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाहरूले मनन गरेर अगाडी बढ्नु पर्छ महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने । अध्यक्ष गोल्छाले तीन संस्था प्रतिस्पर्धी नभई एक अर्काका परिपुरक भएको भन्दै आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गर्दै जानुपर्ने बताए ।
सो अवसरमा चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्वरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए ।