वीरगञ्ज नाकाबाट वस्तु निर्यात बढ्यो
वीरगञ्ज, ६ वैशाख । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट ३१ अर्बभन्दा बढीको वस्तु निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार सो अवधिमा उक्त नाका हुँदै ३१ अर्ब ७६ करोड रुपैयाँब राबरको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३१ करोडभन्दा बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वीरगञ्ज भन्सारबाट २५ अर्ब ४५ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको थियो ।
सो नाकाबाट चैत मसान्तसम्ममा वस्तु आयात भने ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको भएको छ । गत आवको सोही अवधिमा यो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको कार्यालयको तथ्यांक छ ।
उक्त भन्सारबाट निर्यात भएका मुख्य वस्तुहरूमा भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागो लगायत छन् भने आयातित वस्तुतर्फ पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ, सवारी साधनका पाटपूर्जा र ब्याट्रीलगायत रहेका छन् ।