९ महिनामा २७ वाणिज्य बैंकले पौने ५१ अर्ब नाफा कमाए
काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको असरका बाबजुद पनि वाणिज्य बैंकहरुको नाफा बढेको छ। चालू आर्थिक वर्ष २०७७–०७८ को ९ महिनामा २७ वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको ९ महिनाको अवधीको तुलनामा बैंकहरुको नाफा ६ अर्ब ७ करोड रूपैयाँ अर्थात १३.५ प्रतिशत बढेको छ।
नाफाका आधारमा नबिल बैंक भन्दा अगाडि छ । नबिलले तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। तीन अर्ब भन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया बैंक छन् । ग्लोबल आइएमई ३ अर्ब ५७ करोड, राष्ट्रिय वाणिज्य ३ अर्ब २७ करोड र एनआइसी एसिया ३ अर्ब रुपैयाँ नाफा गरेको छ ।
यस्तै इन्भेष्टमेन्ट, प्राइम, एनएमबी, प्रभु, कृषि विकास, सिद्धार्थ र नेपाल बैंकले २ अर्ब भन्दा बढी नाफा गरेका छन् । यस्तै, मेगा, सानिमा, कुमारी, नेपाल बंगलादेश, सिटिजन्स, एभरेष्ट, माच्छापुच्छ्रे, हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चाटर्ड, सनराइज, एनसिसि र बैंक अफ काठमाडूको नाफा एक अर्ब भन्दा माथि छ भने एसबिआई, सिभिल र सेञ्चुरीको नाफा १ अर्ब भन्दा कम छ ।
९ महिनामा २७ मध्ये छ बैंकको नाफा घटेपनि बाँकी २१ बैंकको भने बढेको छ। हिमालयन, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई र सेन्चुरीको नाफा गत वर्षको तुलनामा घटेको छ ।
यस्तै यो अवधीमा बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष चैत मसान्तसम्म २७ बैंकहरूले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।