Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अबको यात्रा ‘ब्रिक’बाट ‘क्लिक’ बैंकिङतर्फ

अबको यात्रा ‘ब्रिक’बाट ‘क्लिक’ बैंकिङतर्फ

भुवन दाहाल, अध्यक्ष ः नेपाल बैकर्स संघ

नेपालमा पछिल्लो समय डिजिटल बैंकिङप्रतिको चासो दिनप्रतिदिन बढ्दै गएको छ । यो प्रविधि लामो समयदेखि प्रयोगमा रहे पनि पछिल्ला दिनहरूमा यसको प्रयोग बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले विगत लामो समयदेखि नै डिजिटल कारोबारलाई जोड दिँदै आइरहेका नै छन् । सरकारले पनि डिजिटल नेपाल निर्माणको घोषणा गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्दा करमा १० प्रतिशत छूट दिने जस्ता थुप्रै योजनाहरू ल्याएर काम गरिरहेको छ ।

जब विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि बढ्न थाल्यो त्यसले मानिसको आवागमन असहज बनायो । एकै स्थानमा धेरै भीडभाड गर्न पनि नहुने भएपछि डिजिटल माध्यमबाट कारोबार गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्न पुगेको छ । डिजिटल कारोबारमा पनि मानिसको आकर्षण मोबाइल बैंकिङमा धेरै छ । यो भुक्तानीका लागि सहज पनि छ । अझ कतिपय बैंकहरूले त मुद्दती खाता समेत मोबाइलबाटै खोल्न सक्ने व्यवस्था गरेका छन् । म आफै आबद्ध रहेको सानिमा बैंकले पनि त्यो सुविधा दिइरहेको छ । घरमै बसीबसी केही सामग्रीको अर्डर पनि मोबाइलबाटै गर्न मिल्छ । भुक्तानी त गर्न मिल्ने नै भइहाल्यो । त्यसकारण यो सहज छ र मानिसको आकर्षण देखिएको छ । अर्को खरिदमा क्यूआर (क्विक रेस्पोन्स) कोडको प्रयोग पनि बढेको छ । केही खुद्रा र थोक विक्रेताहरूले त पहिलेदेखि नै प्रयोगमा ल्याएका थिए । पछिल्लो समय स–साना तरकारी, चिया पसल र सवारीसाधनहरूमा समेत यसको प्रयोग व्यापक रूपमा बढेको छ । योसँगै इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पीओएसमार्फत हुने कारोबार पनि बढेकै छ ।

वर्तमान प्रविधिको युग हो । विज्ञान र प्रविधिले गर्दा विश्वमा अकल्पनीय विकास भइरहेको छ । त्यसको प्रभाव प्रत्यक्ष रूपमा बैंक तथा वित्तीय संस्थामा पर्नु स्वाभाविक हो । डिजिटल कारोबारले कार्य सम्पादनमा सहज र सरल हुनुका साथै समय तथा लागतको पनि बचत गर्छ । बैंक तथा वित्तीय संस्थाहरूमा डिजिटल बैंकिङबाट ग्राहकले सजिलै घरबाटै आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्ने, घरबाटै खाता खोल्न सकिने, कर्जाको माग, रकम ट्रान्सर्फर तथा अन्य सम्पूर्ण विद्युतीय कारोबारबाट विभिन्न सेवाहरूको शुल्क तिर्न सकिने खाताको विवरण र कारोबारको व्यहोरा केही सेकेण्डमै जानकारी लिन सकिने हुँदा यो प्रविधि एकदमै सुव्यवस्थित तथा लाभदायक छ ।

साथै ‘ब्रिक बैंकिङ’बाट ‘क्लिक बैंकिङ’मा जाँदा बैंकहरूको सञ्चालन खर्च पनि कम हुन्छ । ब्रिक बैंकिङमा कार्यालयका लागि स्पेश खोज्नुप¥यो, भाडा तिर्नुप¥यो कर्मचारी राख्नुप¥यो । अनेक लागत र जोखिमहरू पनि त्यत्तिकै छन् । अहिले त झन् बैंकहरूलाई ब्रिक र क्लिक दुवैले गर्दा दोहोरो खर्च भइरहेको छ । यतिमात्र होइन, नेपाल राष्ट्र बैंकले पैसा छाप्न र त्यसको समग्र व्यवस्थापनका लागि वार्षिक करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । डिजिटलमा रूपान्तरण हुँदा त्यो खर्च पनि निकै कम हुन्छ ।

यससँगै डिजिटल प्रविधिले कारोबार समेत मितव्यायी र पारदर्शी हुन्छ । त्यसले गर्दा यसको प्रयोग बढ्दा ग्राहक र बैंक मात्र होइन, सरकारलाई समेत धेरै फाइदा छ । कारोबार विवरणहरू रेकर्ड हुने र सहजै उपलब्ध हुने हुँदा डिजिटल कारोबारमा सेवा प्रदायक र सेवाग्राही दुवै पक्षको आकर्षण पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय प्रवृत्ति नियाल्ने हो भने पनि बैंकहरू प्रायः ब्रिकबाट क्लिक तिरै रूपान्तरण भइरहेको पाइन्छ । त्यसका लागि हामीले कोरोना भाइरसको महामारीअघि पनि थुप्रै प्रयासहरू गरेका थियौं । त्यो विस्तारै साकार हुँदै गइरहेको छ ।

एउटा मनन गर्नुपर्ने कुरा हामीले डिजिटल बैंकिङमा जोड दिइरहँदा केही ग्राहकले गर्ने गुनासो भनेको शुल्क बढी भयो भन्ने हो । तर वास्तवमा यो खासै महँगो छैन । बैंकमा आउजाउ लाग्ने समय भाडा सबै हिसाबकिताब गर्ने हो भने १०–२० रुपैयाँ शुल्क खासै महँगो होइन । तथापि धेरै ग्राहकलाई डिजिटलमा बानी पर्न पनि केही समय छुट दिनु उपयुक्त हुन्छ । ग्राहकको सम्बन्धमा क्यूआर कोड त हामीले निःशुल्क नै गरेका छौं । एउटा व्यक्तिले अर्को व्यक्तिलाई एउटै बैंकमा गर्ने कारोबार पनि निःशुल्क नै छ । अर्को बैंकमा गर्दा चाहिँ केही शुल्क लागिरहेको छ । यो शुल्क कम गर्नुप¥यो भन्ने केही ग्राहकको आग्रह छ । त्यो केही कम गर्न सकियो वा निःशुल्क नै गर्न सकियो भने यसतर्फ अझ बढी आकर्षण थपिन्छ । अबको बैंकिङ प्रणालीमा डिजिटल बैंकिङ निर्विकल्प भइसकेको छ । छोटो अवधिमै डिजिटल बैंकिङ विश्वव्यापी रूपमा विकास भइरहेको छ । यसको स्तरोन्नति तीव्र छ । हामीले पनि यसैलाई आत्मसात् गर्नुको विकल्प छैन ।

अब विस्तारै नगद कारोबारमा शुल्क लाग्ने, डिजिटलमा नलाग्ने बनाउनेतर्फ ध्यान दिनुपर्छ । यद्यपि तत्काल नै यो सम्भव छैन । पहिले त हामीले यसका लागि आवश्यक प्रविधि र सचेतना अभिवृद्धिमा ध्यान दिनुपर्छ । सँगै डिजिटल कारोबार बढाउन मानिसमा बानी पनि बसाल्नुपर्छ । प्रायः एकपटक डिजिटल कारोबार गरेको मान्छे कमै मात्र नगद कारोबारमा जान्छ । म आफै पनि कोभिड–१९ भन्दा पहिले भुक्तानीका लागि चेककै प्रयोग गर्थें, अर्थात् डिजिटल बैंकिङको कम नै प्रयोग गर्थें । तर अहिले अपवाद बाहेक पूरै डिजिटल कारोबार गर्छु । यो निकै सजिलो र सहज छ । आममानिसमा यसबारे जनचेतना विस्तारै बढ्दै छ । अझै धेरै मानिस यो सेवा प्रयोगमा आबद्ध हुन समय लाग्ने देखिन्छ ।

अर्को पाटोबाट हेर्दा डिजिटल बैंकिङको दु्रत विकासका लागि हामी केही असहजताहरू पनि छन् । मुलुकको सबै स्थानमा इन्टरनेटको उपलब्धता छैन । क्यूआर कोड स्क्यान गर्न पनि डेटा चलाउनुपर्ने अवस्था छ । त्यो पनि सबै स्थानमा राम्रोसँग चल्दैन । चल्ने स्थानमा पनि डेटा खोलेर भुक्तानी गर्न कतिपय मानिसले अप्ठ्यारो मान्ने गरेको पाइन्छ । त्यसकारण सरकारले गुणस्तरीय इन्टरनेटको पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्छ ।

सुरक्षा (डेटा सेक्युरिटी)को सवालमा अहिले नेपाल राष्ट्र बैंकको आफ्नै आईटी निर्देशिका नै छ । कुनै आईपी ‘प्रडक्ट’ ल्याउँदा सुरक्षाका हिसाबले के–के राख्नुपर्ने हो, कुन–कुन पूर्वाधार पूरा गरेर मात्र राख्न पाइन्छ भनेर स्पष्ट उल्लेख गरिएको छ । बैंकहरूमा एउटा आईटी सम्बन्धी प्रडक्ट विकास र अर्को जोखिम व्यवस्थापन विभाग हुन्छ । जोखिम व्यवस्थाले इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डजाइजेशन (आईओएस) अनुसार उक्त प्रडक्ट सुरक्षित छ कि छैन भनेर हेर्छ । त्यो आईओएसले प्रमाणीकरण नगरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्रडक्ट सार्वजनिक गर्न पाउँदैन । कसैले अलि उन्नत खालको सेक्युरिटी फिचर राख्लान्, कसैले ठीकै खालको फिचर राख्लान् । तर यो प्रमाणीकरण हुनैपर्छ । फेरि सेक्युरिटी फिचरमा सम्झौता गरेर कुनै दुर्घटना भएमा त त्यसको घाटा बैंक तथा वित्तीय संस्थाहरूलाई नै हुने हो । ग्राहकको विश्वास भएन भने त बैंक सञ्चालनमा गाह्रो हुन्छ । त्यसकारण सुरक्षामा हामीले एकदमै राम्रो गरेका छौं । सुधार गर्ने पक्ष त सधैं रहिरहन्छ ।

उसो त डिजिटल बैंकिङलाई कसरी बढाउने भनेर नेपाल बैंकर्स संघले एउटा समिति नै गठन गरेको छ । नेपाल राष्ट्र बैंक आफै पनि अहिले ‘नेशनल पेमेन्ट सिस्टम’ (राष्ट्रिय भुक्तानी प्रणाली) निर्माण गर्न लागिरहेको छ । त्यसमा पनि नेपाल बैंकर्स संघको प्रतिनिधित्व छ । नेपाल बैंकर्स संघको आफ्नै समितिको सुझाव र राष्ट्र बैंकको निर्देशन अनुरूप बैंकहरूले डिजिटल बैंकिङका लागि काम गरिरहेका छन् । गभर्नर महाप्रसाद अधिकारी समय–समयमा भन्ने गर्नुहुन्छ, ‘मैले सकेसम्म नोटमा हस्ताक्षर गर्नु नपरोस् ।’ त्यसैगरी हामी बैंकर्सहरू पनि नोटको कारोबार नै गर्नु नपरोस् भन्नेमा छौं । सुरक्षाका लागि थप आवश्यक काम सम्पन्न गर्दै ग्राहकलाई विश्वस्त बनाएर हामी पूर्णतः क्यासलेस (नगदरहित) कारोबारलाई प्रवद्र्धन गर्नेतर्फ लागिरहेका छौं । अब ‘ब्रिक’बाट ‘क्लिक बैंकिङ’मा जानुपर्छ भन्नेमा बैंकहरू पूर्ण प्रतिबद्ध छौं ।

(यो लेख अर्थको अर्थ विशेषांकबाट साभार गरिएको हो ।)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x