अक्सिजन मागको आधा मात्र उत्पादन, निजी अस्पतालले भने– बिरामी भर्ना लिन सक्दैनौं
काठमाडौं, २९ वैशाख । पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढेसँगै अक्सिजनको अभाव पनि चुलिँदै गएको छ । मुलुकमा हाल भइरहेको अक्सिजन उत्पादनले मागको आधा मात्र पूरा गर्न सकेको छ । गम्भीर प्रकृतिका संक्रमित बिरामी बढ्दै गएकाले अक्सिजनको माग भने उत्पादनले थेक्नै नसक्नेगरी बढेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले मंगलवार आयोजनागरेको पत्रकार सम्मेलनमा सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले संक्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि ७ हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए । ९ वटा अक्सिजन प्लान्टले दैनिक उक्त परिमाणमा अक्सिजन उत्पादन गरेका हुन् ।
वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । विद्युत्बाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारी गरिएको उनले बताए । विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन नदिने प्रयासमा सरकार रहेको उनको भनाइ छ ।
उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ । उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र बाराबाट अक्सिजन ल्याइएको छ ।
यता, अक्सिजन अभावको कारण देखाउँदै ठूला निजी अस्पतालहरूले थप संक्रमित बिरामी भर्ना लिन नसकिने बताएका छन्, जसमा नेपाल मेडिसिटी, मेडिकेयर, ओम, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री, दीर्घायुलगायत छन् । यीमध्ये मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायुले अक्सिजन नभएकाले बिरामी भर्ना लिन नसकिने भन्दै आइतवार विज्ञप्ति निकालेका थिए । यस्तै ओम अस्पतालले पनि सोही कारण देखाउँदै सोमवार र मेडिसिटी अस्पतालले मंगलवार विज्ञप्ति जारी गर्दै थप बिरामी लिन नसकिने उल्लेख गरेका छन् । माग अनुसार आपूर्ति हुन नसकेपछि अहिले सरकारी अस्पतालमा समेत अक्सिजन अभाव भएको छ ।