भगवान महावीर जैन–निकेतन र आरम्भ फाउण्डेशनको सहकार्यमा महासंघद्वारा आइशोलेसन सेन्टर संचालन
काठमाडौं, ३० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि आजबाट कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ । आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने बताइएको छ ।
कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको छ ।
आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।
आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।
आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पारेको छ।