कोभिड संक्रमणबाट निको हुने दर ७५.१ प्रतिशत
काठमाडौं, ७ जेठ । नेपालमा नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण भयावह रूपमा बढ्दै गएकोमा यसबाट निको हुने दर ७५.१ प्रतिशत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवारसम्ममा मुलुकमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ रहेको छ । तीमध्ये ३ लाख ६६ हजार ९४६ जना भने संक्रमणमुक्त भएका छन् ।
कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको संख्या १ लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३०५ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ६ हजार ५४३ जना भने निको भएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या २४ हजार ३८९ रहेको छ । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय संक्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय संक्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ ।