Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डिजिटल भुक्तानी र सुरक्षा

डिजिटल भुक्तानी र सुरक्षा

भुवन कँडेल,
कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभाग, नेपाल राष्ट्र बैंक :

पछिल्लो समय नेपालमा विद्युतीय प्लेटफर्ममार्फत हुने कारोबार सन्तोषजनक रूपमा बढिरहेको तथ्यांकहरूले देखाएका छन् । नेपाल राष्ट्र बैंकले प्रत्येक महिनाको अन्त्यमा प्रकाशन गर्ने विद्युतीय भुक्तानी सम्बन्धी कारोबारको तथ्यांकले विभिन्न विद्युतीय माध्यमबाट हुने भुक्तानीको संख्या र कारोबार रकम दुवैमा वृद्धि भइरहेको देखाउँछ । खुद्रा कारोबारतर्फ हेर्ने हो भने मोबाइल बैंकिङ त्यसमा वालेट र क्यूआर (क्विक रेस्पोन्स) कोडमार्फत हुने भुक्तानी मासिक अर्बौंको छ । ठूलो मूल्यको भुक्तानीतर्फको कुरा गर्ने हो भने आरटीजीएसको माध्यमबाट हुने भुक्तानी महिनामै १६–१७ खर्ब रुपैयाँ पुगेको छ । त्यस्तै ‘कनेक्ट आईपीएस’मार्फत हुने कारोबार पनि त्यत्तिकै बढिरहेको छ । प्रविधिले गर्दा प्रायः सबैको हातहातमा स्मार्टफोन छ । त्यसले गर्दा सबैले मोबाइल बैंकिङमा जोड दिइरहेका छन् । प्रविधिले जता सहज बनाउँदै लैजान्छ । त्यतातर्फ नै यसको प्रयोग पनि बढ्दै जाने हो ।

मुलुकका प्रायः सबै भू–भागमा विद्युतीय भुक्तानीको विभिन्न उपकरणहरू, जस्तै– क्यूआर, मोबाइल बालेटहरूको उपलब्धता रहेको र प्रयोग पनि भइरहेको छ । अझ क्यूआर कोडको प्रयोग त पछिल्लो समय व्यापक रूपमा विस्तार हुँदै गएको छ । साना–साना तरकारी पसल, चिया पसल, ई–रिक्सादेखि ठूला होटल तथा रेष्टुराँहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने क्रम चलिरहेको छ । यसमा सर्वसाधारणको चासो पनि व्यापक छ । यसको प्रयोग बढाउन बैंक–वित्त र भुक्तानी सेवा प्रदायकहरूले निकै मेहनतका साथ काम गरिरहेका छन् । यसले पनि डिजिटल भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढाउन निकै सघाउ पु¥याएको छ । त्यसकारण, आगामी दिनमा यसले अझै द्रुत गति लिनेछ भन्नेमा विश्वस्त हुन सकिन्छ । विद्युतीय भुक्तानी पछिल्लो केही वर्षको अन्तरालमा चार–पाँच गुणा बढिसकेको छ । डिजिटल कारोबारमा पछिल्लो एक–दुई वर्षमा जुन हिसाबले विस्तार भएको छ, त्यो दुई दशकयताको भन्दा पनि उच्च छ ।

हाम्रो जस्तो मुलुकमा यसको तीव्र विस्तारका लागि केही असहजता पनि छन् । सबै नागरिकको हातमा स्मार्ट फोनको उपलब्धता छैन । इन्टरनेटको पहुँच पनि पुगेको छैन ।
अर्कोतर्फ डिजिटल कारोबार सम्बन्धी वित्तीय साक्षरता नहुँदा त्यसको प्रयोग बढाउन चुनौती छ । यस्तै सबैतिर इन्टरनेटको उपलब्धता नभएकाले मोबाइल डेटामै भर पर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा इन्टरनेट पुगे पनि त्यसको गुणस्तर राम्रो छैन, जसले गर्दा आवश्यक परेको बेला इन्टरनेटले काम नगर्दा बाधा सृजना भएको छ । अर्कोतर्फ, हामी जुन परम्परामा हुर्कंदै आयौं, त्यसमा नगदमै कारोबार हुँदा वा हातमा नगद लिएर गनेर मात्र विश्वस्त हुने चलन छ । तर अब आएर क्रमशः यसको पनि सम्बोधन भइरहेको छ । इन्टरनेट सुविधा बढ्दै छ । डिजिटल भुक्तानी सम्बन्धी वित्तीय साक्षरता पनि बढ्दै छ ।
भुक्तानीमा नगदभन्दा विद्युतीय माध्यम अपनाउने विषय कुनै व्यक्ति र संस्था विशेषको भन्दा पनि राष्ट्रको एजेन्डा हो । यो सुशासन र पारदर्शितासँग जोडिएको विषय हो । राज्यले पनि यसको प्रयोगमा विशेष जोड दिएको छ ।

त्यतिमात्र नभई डिजिटल भुक्तानी समाजको सभ्यता र आधुनिकताको पहिचान हो । नयाँ पुस्ता उसै पनि प्रविधिमैत्री छन् । भोलिको दिन पनि यही नयाँ पुस्ताकै हो । त्यसले गर्दा भोलिका दिनमा हामीले परिकल्पना गरेभन्दा छिटो यसले फड्को मार्छ । यो मानिसको बानीसँग सम्बन्धित विषय पनि भयो । शुरू शुरूमा केही असहज हुनु स्वाभाविक पनि हो । तर एक–दुईपटक यसको प्रयोग गरिसकेकाहरू विद्युतीय माध्यमको उपलब्धता रहेसम्म पुनः नगद कारोबारमा फर्कने भन्ने अवस्था देखिँदैन ।

अहिले नै हेरौं न, रेष्टुराँ, सामान्य तरकारी बजारहरूमा क्यूआरको प्रयोगमा मानिसहरू आकर्षित भएका छन् । अब विस्तारै यातायात, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि यसको प्रयोगले व्यापकता पाउँछ । सबैतिर डिजिटल नै चल्ने भएपछि मानिसले सहजता पूर्वक लिन्छन् ।
अबका दिनमा यो प्रणालीलाई थप छिटो, छरितो र सहज बनाउन राष्ट्र बैंकले आफ्नो तर्फबाट सक्रिय भूमिका खेलिरहेको छ । यसको स्वीकार्यता र विश्वास बढाउन कानूनी पूर्वाधार तयार भएका छन् । विभिन्न कम्पनीलाई भुक्तानी सम्बन्धी कार्यका लागि अनुमति दिने कार्य हाललाई सम्पन्न भएको छ भने नियमन गर्ने काम नियमित चलिरहेको छ । साथै जनचेतना अभिवृद्धि गर्ने कार्य पनि अगाडि बढिरहेको छ । नयाँ–नयाँ कम्पनी र प्रविधिहरू बजारमा आउन भन्न बैंकले सहजीकरण गर्दै आएको छ । ग्राहकलाई आकर्षित गर्न डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्दा सहुलियत दिने कामहरू पनि सम्बन्धित भुक्तानी सेवा प्रदायक कम्पनीहरूले गरिरहेकै छन् ।

डिजिटल कारोबारका धेरै फाइदाहरू छन् । डिजिटल भुक्तानी गर्दा समय र पैसा दुवैको बचत हुन्छ । राष्ट्रकै पैसा खर्च हुनबाट जोगिन्छ । नगद कम प्रयोग भएपछि नोट कम छापे पनि पुग्ने भयो, नगद छपाइमा लाग्ने खर्च बच्यो । अर्कोतर्फ, कार्डमार्फत भुक्तानी कारोबार गर्नुपर्दा कार्डको आफ्नै केही खर्च छ । त्यसको प्रयोगका लागि प्वाइन्ट अन सेल (पीओएस) मेशिनहरू खरिद गर्नुप¥यो । त्यसमा प्रयोगमा पनि केही शुल्क लाग्छ, त्यसको पनि पैसा बाहिर नै जाने हो ।
क्यूआरमार्फत भुक्तानी गरियो भने शुल्क पनि लागेन, देशको पैसा पनि बाहिर जाने भएन । त्यसकारण नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानी बढाउन प्रवद्र्धनात्मक उपाय पनि अपनाइरहेको छ । यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले बजारमा आएका नयाँ–नयाँ प्रविधिलाई प्रोत्साहित गर्दै भुक्तानी प्रणालीलाई छिटोछरितो बनाउने, सेवाग्राहीलाई थप व्ययभार नपर्ने, विश्वासिलो र सुरक्षित हुने उपकरणहरू अँगाल्दै गएको छ । एक त पछिल्लो समय कोरोना भाइरस महामारीले गर्दा धेरै सेवाग्राहीमा नगद छुन नपरे हुन्थ्यो भन्ने मान्यता छ । आफ्नै मोबाइलबाट भुक्तानी लिने दिने गर्दा सम्भाव्य संक्रमणको डर पनि भएन । नगद झिक्न र राख्न बैंकमा गइराख्नु पनि परेन ।

डिजिटल कारोबारमा आमनागरिकलाई जोड दिइरहँदा हामीले भुल्नै नहुने अर्को महत्वपूर्ण पाटो हो यसको सुरक्षा । यसप्रति राष्ट्र बैंक पूर्णतः सचेत छ । सोही अनुरूप बैंक वित्तीय संस्था भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशनहरू जारी गरिएको छ । जस्तै– इजाजत प्राप्त कम्पनीहरूले प्रत्येक ६–६ महिनामा सिष्टम अडिट गर्नुपर्छ, यो मापदण्डको सफ्टवेयर हुनुपर्छ भन्नेदेखि विभिन्न प्रचलित अन्तर्राष्ट्रिय मान्यताहरू, पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआईडीएसएस)को पालना गरेको हुनुपर्छ । यी बाहेक अन्य तबरबाट पनि सुरक्षा प्रबन्धमा कुनै सम्झौता नभएको सुनिश्चतताका लागि नियमित लेखापरीक्षण गर्न र मापदण्ड पालना गर्न निर्देशन नै जारी गरिएको छ । साथै, केन्द्रीय बैंकले ती संस्थाहरूको नियमित निरीक्षण तथा ऐन, नियम, कानून र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गराउँछ ।

तर यदाकदा नेपालमै एटीएम ह्याक गरेर रकम चोरी गरेको घटनाहरू नभएका पनि होइनन् । तर यसबाट विचलित हुनुपर्ने अवस्था छैन । एक त साइबर हमला विश्वकै लागि पनि चुनौतीको विषय हो । त्यसको व्यवस्थापन गर्दै न्यूनीकरण गर्नु एकमात्र उपाय हो । साइबर हमला होला, फिसिङ होला भनेर प्रविधिको विकासलाई रोक्ने र रोकिने भन्ने हुँदैन । सुरक्षाको सवालमा सेवाग्राही किन ढुक्क हुँदा हुन्छ भने हाम्रा भुक्तानी सेवासम्बद्ध कम्पनी र बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट प्रविधि प्रयोग गरिरहेका छन् । परिवर्तित समय अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध प्रविधि अनुसार स्तरोन्नति पनि गरिरहेका हुन्छन् ।

नेपाल राष्ट्र बैंकले सुरक्षाको विषयलाई गम्भीरता साथ लिएर सोही अनुरूप नीति निर्देशनहरू जारी गरिरहेको छ । त्यसैले सेवाग्राहीले ढुक्क भएर विद्युतीय भुक्तानी प्लेटफर्महरूको प्रयोग गर्दा हुन्छ । अबको भविष्य भनेकै डिजिटल हो, यसको प्रयोग आजैदेखि शुरू गरौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x