Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्मार्ट बीमा : आजको आवश्यकता

स्मार्ट बीमा : आजको आवश्यकता

राजुरमण पौडेल,
कार्यकारी निर्देशक, बीमा समिति :

प्रविधिको तीव्र विकाससँगै हरेक उत्पादन र सेवाका हरेक सम्भाव्य क्षेत्रमा प्रविधि परिचालन (लेभरेज) गरी थप लाभ सृजना गर्ने क्रम बढेको छ । प्रविधिको विकासले गर्दा सेवा प्रवाहमा सरलता, सहजता तथा वस्तु उत्पादन र आपूर्तिको तौरतरिकालाई पनि स्तरोन्नति गर्नुका साथै व्यवस्थित पारेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ पछि नेपालको बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोग व्यापक रूपमा बढेर गएको छ । यसले गर्दा बीमाको पहुँच र बीमा सेवा लिने तरिकामा पनि आमूल परिवर्तन देखिएको छ ।

यही अवधिमा बीमा क्षेत्रको नियामक बीमा समितिले बीमा कम्पनीहरूको सञ्चालन, सुशासन तथा सेवाप्रवाहलाई व्यवस्थित गर्न सूचनाप्रविधि निर्देशिका पनि जारी गरिसकेका छ । यो निर्देशिका बीमा कम्पनीहरूलाई पनि पठाइसकेका छौं । अहिले बीमा कम्पनीहरूमा सूचना प्रविधि सम्परीक्षण (आइटी अडिट)को काम चलिरहेको छ । बीमा कम्पनीहरूलाई आईटी अडिटको रिपोर्ट चाँडो बुझाउन नियामकका तर्फबाट निर्देशन पनि दिइसकेका छौं ।

अहिले गाउँ–गाउँसम्म सबैको हात–हातमा स्मार्टफोन छ । स्मार्टफोन हुनेबित्तिकै सबैले त्यसमार्फत उपलब्ध गराइने सेवाहरू प्रयोग गर्न सक्छन् भन्ने होइन, त्यसका लागि साक्षरता आवश्यक छ । बीमा कम्पनीहरूले मोबाइलबाटै बीमालेखहरू विक्री गर्न सक्ने क्षमता विकास गरेर मात्र पनि हुँदैन, लाभग्राही वर्ग अर्थात् उपभोक्तामा पनि त्यसबारे यथोचित जानकारी र उपलब्ध सेवा उपभोग गर्न सक्ने क्षमता हुन जरुरी छ । यसरी अगाडि बढ्न सकियो भने बीमाको पहुँच र प्रगाढता वृद्धि हुनेछ । यी सबै पक्षमा विचार गर्दै बीमा क्षेत्रलाई डिजिटलीकरणतर्फ उन्मुख गराउने काम भइरहेको छ ।

तुलनात्मक रूपमा अहिले बीमा क्षेत्रमा भन्दा पनि बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग व्यापक रूपमा बढ्दै गएको छ । यसले गर्दा पनि बीमा दाबी भुक्तानी गर्न सहज भएको छ । बीमकले गर्ने भुक्तानी बीमकको बैंक खाताबाट बीमितको बैंक खातामा पठाउन सहज भएको छ । त्यो मात्र नभएर बीमा दाबी भुक्तानीका लागि ई–सेवा, खल्ती, फोन–पे, आईएमई–पे जस्ता मोबाइल एपहरू ग्राहकले प्रयोग गर्न सक्छन् । बीमा कम्पनीहरूले छिटोभन्दा छिटो दाबी भुक्तानी दिन नयाँ–नयाँ प्रविधिहरू ल्याएका छन् । कम्पनीले भिडियो कन्फ्रेन्स गराउने जस्ता सेवा दिँदै आएका छन् । कम्पनीका नयाँ–नयाँ प्रविधिले गर्दा दाबी फछ्र्यौट पनि छिटो भएको देखिन्छ ।

बीमा कम्पनीलाई प्रविधिसँग अभ्यस्त गराउन नयाँ–नयाँ सफ्टवेयर ल्याएर छिटो छरितो सेवा दिन समितिले भनिसकेको छ । यसै अनुरूप बीमा कम्पनीहरू त्यसतर्फ लागेका छन् । कोभिड–१९ को कारणले हामीले घरमा बसेर पनि काम गर्नुपर्ने अवस्था आएको थियो । त्यो अवस्थाले बीमा कम्पनीहरू बीमा शुल्क भुक्तानीलाई पूर्णतः डिजिटल माध्यममै भर पर्न सकिने साथै बीमालेख खरिद, नवीकरण लगायतलाई पनि डिजिटलीकरण गर्न सकिन्छ कि भन्ने प्रयासमा देखिन्छन् ।

डिजिटल प्रविधिको प्रयोगले गर्दा बीमा दाबी भुक्तानी गर्ने बेला एउटा समस्या चाहिँ पर्ने रहेछ । दाबी तिर्ने बेलामा हामीले सक्कल बीमालेख हेर्छाैं । सक्कल बीमालेखमा पनि विशेष गरेर नेपाल सरकारको राजस्व भुक्तानीमा देखिने गरी टिकट टाँस्नुपर्ने हुन्छ । त्यो टिकट चाहिँ सक्कल बीमालेखमा टाँस्नुपर्ने भएकोले पनि त्यसलाई अलिकति अप्ठ्यारो पनि छ । त्यसलाई पनि सहज बनाउन हामी अबको नयाँ नीति तथा कार्यक्रममा टिकट टाँसको व्यवस्था सहज बनाइदिन अर्थ मन्त्रालयलाई अनुरोध पनि गर्नेछौं । यसको समाधान होला भन्ने पनि लागेको छ । अर्काेतर्फ, डिजिटल सिग्नेचरको अभ्यासतिर नगएको भएर पनि हामीलाई असहज जस्तो लाग्दो रहेछ । तर अब हामी विस्तारै बीमा सेवालाई डिजिटलीकरण गर्ने अभ्यासतिर जाँदै छौं ।

प्रविधिको प्रयोग गर्दा बीमा क्षेत्रका कामहरू छिटो–छरितो हुने भएकाले त्यसतर्फ पनि बीमा समितिको ध्यान गएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी बढावा दिन भुक्तानी प्रणाली विभागमार्फत कानूनी, संस्थागत र संरचनात्मक व्यवस्था गरेजस्तै बीमा समितिले पनि बीमा क्षेत्रबाट प्रवाह हुने सेवाहरूमा सम्भावित डिजिटलीकरणलाई विश्लेषण गर्दै आवश्यक नियामकीय र सुपरीवेक्षकीय व्यवस्थाहरू तयार गर्नुपर्ने हुन्छ । अझै पनि दूरदराजमा बसोवास गर्नेहरूलाई प्रविधिको बारेमा थाहा नहुन पनि सक्छ । उनीहरूलाई कसरी शिक्षित बनाउने र बीमालेख छान्न सक्ने बनाउन सकिन्छ भन्नेमै अहिले हाम्रो मुख्य ध्यान केन्द्रित भएको छ ।

हामीले बीमा कम्पनीहरूलाई आफ्ना ग्राहकका लागि यस्ता तालिमहरू प्रदान गर्न भनेका छौं । बीमा कम्पनीले आफ्ना कर्मचारीलाई त दिएका छन् । आफ्ना ग्राहकहरूलाई पनि तालिम दिएर प्रविधिमा अभ्यस्त बनाउन निर्देशन पनि गरिसकेका छौं ।

अहिले वैदेशिक रोजगारमा जानेहरूका लागि म्यादी जीवन बीमा अनलाइनबाटै लिन सक्ने व्यवस्था गरेका छौं । यसमा पोलिसी खरिद गर्न बीमित स्वयंले उपस्थित भइराख्नुपर्दैन । दाबी भुक्तानीका लागि पनि डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गर्न सकिन्छ । साथै बीमा सेवाका अन्य पक्षमा डिजिटल माध्यमलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर बीमक र बिमा समिति अध्ययन गरिरहेका छौं । पछिल्लो समय बीमा कम्पनीहरू अनलाइनबाटै अन्य बीमा स्कीम अन्तर्गतका पोलिसी खरिद गर्न र बीमा शुल्क (प्रिमियम) तिर्न सकिने व्यवस्था पूर्णरूपमा कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छन् । कतिपय बीमा कम्पनीहरू त मोबाइलबाटै बीमालेख विक्री गर्न सक्ने प्रणालीको विकास गर्न पनि क्रियाशील छन् ।

विदेशको बीमा बजार हेर्ने हो भने पनि मोबाइलबाटै बीमा सम्बन्धी सबै काम गरिएको पाइन्छ । नेपालमा पनि त्यो प्रविधि आएको छ । बीमा कम्पनीहरूले दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग पनि सहकार्य गरेर यस्ता योजनालाई देशभर पु¥याउन सक्छन् ।

बीमा किन आवश्यक छ ?
मानव समाजमा विपत्ति वा जोखिमका सम्भावना धेरै छन् । व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोबार सबैमा जोखिम त हुन्छ नै । अकस्मात् दुर्घटना भई क्षति हुन सक्छ । यस्ता अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । समान प्रकृतिको अनिश्चित जोखिमले ग्रस्त भएका व्यक्ति वा समुदायले आफ्नो जोखिम अनुरूप बीमाशुल्क बुझाई करारको माध्यमबाट घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । घटना सधैं अनिश्चित नै हुने भएकाले सबैका लागि क्षतिपूर्ति दिने नभई प्राप्त वा जम्मा भएको बीमा शुल्क कोषबाट क्षति हुने वर्गलाई भुक्तानी दिने व्यवस्था बीमाले गर्दछ । बीमा जोखिम हस्तान्तरण गर्ने उपाय पनि हो ।

बीमाको सम्बन्ध कुनै न कुनै रूपमा जोखिमसँग जोडिएको हुन्छ । बीमा जोखिम हस्तान्तरणको एक करार हो । हरेक करार वा सम्झौता दुई पक्षका बीचमा सम्पन्न हुन्छ । बीमा पनि दुई पक्षको बीचमा हुने यस्तै करार हो । बीमा गर्दा बीमक र बीमित (बीमा गर्ने व्यक्ति)बीच गरिन्छ । यसमा बीमाको विषयवस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा सार्ने गरिन्छ । यसका लागि बीमा कम्पनीले बीमा शुल्क लिन्छ । यस्तो बीमा शुल्क अंश÷अंश वा एकमुष्ट रूपमा पनि बुझाउन सकिन्छ । यसपश्चात् बीमालेख (पोलिसी)मा तोकिएको जोखिमबाट हानि÷नोक्सानी भएमा आपूmले स्वीकार गरेअनुसारको मूल्यांकनमा तोकिएको हदसम्म नबढ्ने गरी बीमा कम्पनीले क्षति व्यहोर्ने गर्दछ ।

करार दुई पक्षबीच हुने हुँदा एक–अर्काको धारणा स्पष्ट हुनेगरी बीमा सुरक्षण माग्ने र क्षतिपूर्ति दिने व्याख्या गरी करार सम्पन्न हुन्छ । बीमा करारलाई बीमालेख भनिन्छ, जुन लिखित रूपमा छापिएकोे अवस्थामा प्रस्तुत गरिन्छ । बीमालेखमा बीमा गर्न प्रस्ताव गर्नेले बीमा प्रस्ताव गर्दा उल्लेख गरिएका उद्घोषणलाई आधार मानी प्रस्तावकको नाम, ठेगाना, जोखिम विवरण, बीमा शुल्क बुझाएको बीमा भएको वस्तु÷दायित्व÷व्यक्ति वा अन्य बीमा गरिएको परिसर वा अन्य बीमा अवधि, शर्त वा अन्य प्रतिबन्धात्मक व्यवस्था वर्णन गरिएको हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x