खोपका लागि पाँच मुलुकलाई औपचारिक पत्राचार
काठमाडौं, ११ जेठ । सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ ।
मन्त्रालयद्वारा सोमवार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिब ५० लाख डोज खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिए ।
ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उनको भनाइ छ । खोप उत्पादक देशसँग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको उनले बताए ।
मन्त्री त्रिपाठीले यूरोपियन युनियसँग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिए । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा आएको छ भने १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।