प्रभु बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं, ११ जेठ । प्रभु बैंकले मंगलवार (आज) देखि १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ । कम्पनीले आजदेखि कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागिएको छ ।
‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरे जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने कम्पनीले जानाएको छ ।
प्रति ऋणपत्र १ हजार रुपैयाँ दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।