Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पाँच दिनमा ५० हजार जनाको कोभिड परीक्षण गर्दै कामपा

पाँच दिनमा ५० हजार जनाको कोभिड परीक्षण गर्दै कामपा

काठमाडौं, ११ जेठ । कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेका बेला काठमाडौं महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । महानगरले यही जेठ १४ देखि १८ सम्म (पाँच दिन)मा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षणको तयारी गरेको छ ।

परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिनेछ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिएको राससमा उल्लेख छ । प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतीजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।

कामपाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन कामपामा संक्रमण बढिरहेका छन् । नयाँ भेरियन्टको कोभिड–१९ संक्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो । ठूलो समूहमा गर्न लागिएको यस किसिमको परीक्षणका लागि हाल काम गरिरहेका जनशक्तिले अपुग भए थपेर भए पनि परीक्षण गर्ने बताइएको छ । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिनेछ । परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक÷एक केन्द्र राखिनेछन् ।

यसअघि कालिमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी दुई ठाउँमा यस प्रकारको परीक्षण सम्पन्न भएको छ । हालसम्म कामपामा ५८ हजार ४०२ जना संक्रमित भएका छन् । तीमध्ये ४६ हजार ५४६ निको भइसकेका छन् भने ४०३ को कोरोनाका कारण मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x