वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत ब्याजदरको बचतपत्रमा लगानीको अवसर
काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजदर भएको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले वैदेशिक रोजगार बचतपत्र २०८३ नाम दिएको उक्त बचतपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज हुनेछ ।
नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिकाअनुसार चालु आर्थिक वर्षको अन्तिम चौमासमा ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री हुन लागेको हो । उक्त बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन गर्न सकिनेछ । यही जेठ १३ देखि बिक्री खुला हुने बचतपत्रमा आउँदो असार ३ गतेसम्म आवेदन गर्न सकिनेछ । यसको निष्कासन २०७८ असार ८ गते हुने र २०८३ असार ८ गते सावाँ फिता हुने राष्ट्र बैंकले जनाएको छ ।