खोपका लागि सरकारको आग्रहपछि बढ्दै अन्तरर्राष्ट्रिय चासो र सहयोग
काठमाडौं, १३ जेठ । मुलुकमा दोस्रो लहरको कोेभिड संक्रमण समुदायस्तरमै फैलिएर अवस्था जटिल बन्दै जाँदा समेत खोपको व्यवस्था गर्न नसकेको भन्दै आलोचना भइरहेकोमा सरकारले प्रयास थालेपछि अन्तर्राष्ट्रिय चासो र सहयोग जुट्न थालेको छ । संक्रमणको दर भयावह बनेसँगै छिटोभन्दा छिटो खोप उपलब्ध गराउन चौतर्फी दबाब परेपछि सरकारले विदेशस्थित नेपाली दूतावासलाई समेत यसका लागि कूटनीतिक पहल थाल्न निर्देशन दिएको छ भने मन्त्रीस्तरमा पनि खोप निर्माता मुलुकहरूसँग संवाद भइरहेको छ । अमेरिकाबाट नेपाललाई कोरोना विरुद्धको खोप सहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल भइरहेको अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले बताएका छन् ।
खोप आपूर्तिका लागि सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज र बेलायतको अक्सफोर्ड÷अस्त्राजेनेका बायोटेक्नोलोजीसँग ५० लाख डोज खोप खरिदका लागि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटसहित पाँच कम्पनीलाई खोप उपलब्ध गराइदिन पत्राचार गरेको थियो । यस्तै केही दिनअघि स्वास्थ्य सेवा विभागले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएका अमेरिकाका मोडेर्ना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खरिदका लागि प्रस्ताव गरेकोमा जोन्सन एण्ड जोन्सन र स्पुतनिक भीले खोप पठाउन सकारात्मक रहेको उत्तर दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिकंरीको भनाइ छ । सरकारले कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध गराइदिन पनि कोभ्याक्सका ठूला दाता अमेरिका, बेलायत, जर्मनीलगायत मुलुकलाई आग्रह गरेको छ ।
यसैबीच, चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधवार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् । नेपाललाई चीनले यसअघि ८ लाख डोज ‘भेरोसेल’ खोप अनुदान दिएको थियो ।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई समेत कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन पहलका लागि अनुरोध गरेकी छन् । मंगलवार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि राष्ट्रपति भण्डारीले अनुरोध गरेकी हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि कोरोनाविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् ।
यसैगरी नेपालले कोभ्यास अन्तर्गत पाउनुपर्ने खोप आपूर्ति सहज हुन नसकेपछि अर्को खोप रोज्न कोरोना खोप वितरणको विश्वव्यापी अभियान कोभ्याक्सले सुझाएको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले अझै एक वर्ष खोप दिन नसक्ने बताएपछि त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न कोभ्याक्सले नेपाललाई आग्रह गरेको हो ।
कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा कुल जनसंख्या २० प्रतिशत अर्थात् १९ लाख २० हजार डोज खोप खोप पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही अनुसार अनुसार पहिलो चरणमा ३ लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ खोप उपलब्ध गराएको थियो ।
अर्को खोप रोज्न कोभ्याक्सको पत्र प्राप्त भएको भन्दै स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेर निर्णय जुन १ सम्ममा जवाह दिइने जानकारी दिए ।