Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विद्युतीय भुक्तानी कारोबार बढ्यो, आरटीजीएसमार्फत सबैभन्दा बढी

विद्युतीय भुक्तानी कारोबार बढ्यो, आरटीजीएसमार्फत सबैभन्दा बढी

काठमाडौं, २६ जेठ । पछिल्लो समय नेपालमा विद्युतीय भुक्तानीको कारोबार उल्लेख्य रूपमा बढेको पाइएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणको पहुँच एवं प्रयोगमा सर्वसाधारणको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबार बढ्दै गएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको फागुन महिनासम्ममा सबै प्रकारका विद्युतीय माध्यमबाट गरी कुल २८ खर्ब ६३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार भएको छ । विद्युतीय भुक्तानी उपकरणमध्ये सो अवधिमा आरटीजीएसमार्फत भएको कारोबार रकम सबैभन्दा बढी छ । चालू आवको ८ महिनामा यसको माध्यमबाट मात्रै कुल १७ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको भुक्तानी कारोबार भएको छ, जुन कुल कारोबारको ६० प्रतिशतभन्दा धेरै हो ।

सोही अवधिमा भुक्तानी कारोबारका आधारमा दोस्रोमा ईसीसी रहेको छ । यसको माध्यमबाट ७ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यस्तै तेस्रोमा रहेको आईपीएसबाट १ खर्ब ७९ अर्ब ६९ करोड र चौथोमा कनेक्ट आईपीएसबाट १ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।

यसैगरी कार्डतर्फ डेबिट काडको माध्यमबाट ६३ अर्ब ७९ करोड, क्रेडिट कार्डमार्फत १ अर्ब ३ करोड, प्रिपेड कार्डबाट १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने इन्टरनेट बैंकिङतर्फ ८ अर्ब ८८ करोड र मोबाइल बैंकिङतर्फ ४० अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार भएको मन्त्रालयको तथ्यांक छ ।

यस अवधिमा वालेट र क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार पनि बढेको छ, जसअनुसार वालेट र क्युआर कोडमार्फत हुने भुक्तानी कारोबार रकम क्रमशः १० अर्ब १८ करोड र २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x