एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्र विक्री खुला
काठमाडौं, ६ असार । एनआईसी एशिया बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले १० वर्षे अवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउने उक्त ऋणपत्र मध्य १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री खुला गर्ने भएको हो ।
सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । प्रतिऋणपत्र १ हजार दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।