निषेधाज्ञामा अवधिमा उपभोक्ता हितविपरीत व्यापारिक कारोबार बढ्यो

काठमाडौं, ६ असार । निषेधाज्ञाको मौका छोप्दै बजारमा उपभोक्ता हितविपरीत व्यापारिक गतिविधि बढेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनले यस्तो देखाएको हो । निषेधाज्ञा शुरू भएयता (वैशाख १६ गतेदेखि) जेठ मसान्तसम्म गरिएको बजार अनुगमनमा वस्तुको चर्को मूल्यवृद्धि, अखाद्य वस्तु विक्रीवितरण लगायत अवाञ्छित गतिविधि भएको पाइएको विभागले बताएको छ ।
महामारीको बेलामा कृत्रिम अभाव सृजना गर्ने, बढी मूल्य लिएर कालोबजारी गर्ने लगायत उपभोक्ता हित विपरीत गतिविधि गर्ने व्यवसायीलाई विभाग, जिल्ला प्रशासन कार्यालयलगायत निकायले संयुक्त बजार अनुमगन गरेर कारबाही वा जरिवाना हुँदै आएको छ ।
सोही अनुसार निषेधाज्ञा अवधिमा विभागले देशभर गरेको बजार अनुगमनपछि कैफियत पाइएका १६३ फर्मलाई कारबाही एवं जरिवाना गरिएको छ । विभागले २०३ ओटा फर्मको अनुगमन गरेको थियो ।
विभिन्न फर्मलाई गरिएको जरिवानाबाट मात्रै ३ करोडभन्दा बढी राजस्व असुली भएको विभागले बताएको छ । यस्तै अखाद्य पाइएका ४ करोड मूल्य बराबरको वस्तु नष्ट गरिएको छ । विभागका अनुसार सो अवधिमा ९७ फर्मलाई जरीवाना तिराइएको छ भने कैफियत पाइएका ६६ वटा फर्मलाई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ ।