चिनियाँ पक्षको व्यवस्थापनपछि तामाकोशीको सम्भाव्य जोखिम टर्दै

काठमाडौं, ६ असार । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले व्यवस्थित रूपमा खुलाउन थालेपछि तामाकोशी नदीको जोखिम कम हुँदै गएको छ । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि व्यवस्थित रूपमा पानी पठाउन थालिएको बताइएको छ ।

दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ ।

स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जानकारी दिए ।

तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उगम भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ ।

यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ । आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *