सरकारको राजस्व परिचालन समग्रमा वृद्धि, गैरकर राजस्वमा ह्रास

काठमाडौं, ६ असार । एक वर्ष अवधिमा सरकारको कुल राजस्व परिचालन २५ प्रतिशतभन्दा धेरैले बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व परिचालन २५.४ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कर राजस्वमा २८.६ प्रतिशतले वृद्धि हुँदो गैरकर राजस्व भने ६.५ प्रतिशतले खुम्चिएको छ । मन्त्रालयका अनुसार सो अवधिमा करका सबै शीर्षकमा राजस्व संकलन बढेको छ ।
कोभिड १९ महामारीको समयमा समेत वस्तुको आयात सहज रूपमा भइरहेकाले भन्सार विन्दुमा हुने कर संकलन (भन्सार महशुल र पैठारमा हुने मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क कर)मा उल्लेख वृद्धि भएको मन्त्रालयले बताएको छ ।
समीक्षा अवधिमा शीर्षकगत लक्ष्यमा आन्तरिकतर्फको मूल्य अभिवृद्धि कर, भन्सार महशुल र अन्य कर शीर्षकको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको पाइएको छ । यसैगरी चालू आवको वैशाख मसान्तसम्ममा संघीय राजस्व परिचालन ( प्रदेश र स्थानीय तहलाई बाँडफाँटअघि रोयल्टी समेत) गतवर्षको तुलनामा २४.९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व समेत गत आवको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढेको छ ।