Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मनसुनजन्य विपदबाट २६ जिल्ला प्रभावित

मनसुनजन्य विपदबाट २६ जिल्ला प्रभावित

काठमाडौं, १७ असार । मुलुकमा यस वर्ष मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । अन्य १९ जना घाइते भएका गृहप्रवक्ता जनकराज दाहाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार कुल ४६२ घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ ।

बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट कूल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले बताएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकोप्टरमार्फत राहत पुर्याइएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले बताएको छ ।

अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनर्निर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार रकम वितरण गरिसकिएको छ । सोही प्रयोजनका लागि अर्थ मन्त्रालयबाट प्राप्त १० करोडमध्ये नुवाकोट जिल्लाबाट लाभग्राहीलाई अनुदान स्वरूपको वितरण कार्य प्रारम्भको तयारी गरिएको मन्त्रालयले आज सूचना जारी गरी बताएको छ ।

मनसुनजन्य विपद्बाट वेपत्ता भएकाको खोजीलगायत जनधनको क्षतिको यथार्थ मुल्यांकन गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय क्रियाशील रहेको बताइएको छ । मन्त्रालयले निरन्तर वर्षा भइरहेकाले जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x