निजी आवास पुनर्निर्माण ७४.६८ प्रतिशत सम्पन्न, अनुदानको किस्ता कात्तिकभित्रै लिइसक्नुपर्ने
काठमाडौं, १९ असार । भूकम्पपछिको आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत आवास निर्माण सम्पन्न भएको छ । प्राधिकरणका अनुसार हालसम्म ६ लाख ११ हजार २४१ लाभग्राहीले निजी आवास पुनर्निर्माण सम्पन्न गरेका हुन् । यस्तै पुनर्निर्माण भइरहेका आवासको संख्या १ लाख ४६ हजार १५३ रहेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिइसक्नेगरी पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।
समितिको बैठकले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ । प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्माण गर्न लाभग्राही मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ । बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डबमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।
कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिद सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका तीनै किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ ।
यसअघि २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो । उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।