माथिल्लो तामाकोशीको पहिलो युनिटबाटबाट आजदेखि विद्युत् उत्पादन
काठमाडौं, २१ असार । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आव (सोमवार)देखि बिजुली उत्पादन हुने भएको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।
आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार बिजुली उत्पादन हुने प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । अहिलेसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अबदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।
यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको प्रवक्ता न्यौपानेले बताए ।