पेन्ट उद्योगको बजार वार्षिक २० अर्बको, ९० प्रतिशत आपूर्ति घरेलु उत्पादनबाटै

काठमाडौं, २१ असार । नेपालमा पेन्ट उद्योगको बजार वार्षिक २० अर्ब रुपैयाँ बराबरको रहेको पाइएको छ । उद्योग विभागले आइतवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरूको विस्तृत अध्ययन प्रतिवेदन’ले यस्तो देखाएको हो ।

प्रतिवेदनका अनुसार नेपालमा पेन्ट उत्पादन क्षमता लगभग २ लाख मेट्रिक टन रहेको छ । गत आर्थिक वर्षमा पेन्टको वार्षिक उत्पादन लगभग १ लाख १८ हजार मेट्रिक टन छ भने पेन्ट उद्योगको औसत क्षमता उपयोग ५९ प्रतिशत रहेको छ ।

पेन्टको मागको लगभग सबै अर्थात् ९० प्रतिशतभन्दा बढी घरेलु उत्पादनले पूरा गर्ने गरेको अध्ययनमा पाइएको छ ।

पेन्टको माग वार्षिक ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । नेपाल पेन्ट उत्पादक संघ (एनपीएमए)सँग आबद्ध १९ रंग उत्पादन उद्योगहरू छन् । यस्ता उद्योगहरूको कुल पूँजी १० अर्ब ८० करोड रुपैयाँ रहेको छ । सञ्चालनमा रहेका उद्योगमध्ये ६ ठूला, ९ मध्यम स्तरका र बाँकी साना उद्योग रहेका छन् ।

पेन्टको उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ प्रायः भारतबाट आयात हुने गरेको छ । नेपालमा पेन्ट उत्पादनको सबै उत्पादन प्रविधि अर्ध स्वचालित र स्वचालित रहेको प्रतिवेदनमा उल्लेख छ ।

पेन्ट उद्योगले लगभग ५ हजार ६०० प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सृजना गरेको, तीमध्ये करिब ३० प्रतिशत दक्ष र अर्धदक्ष जनशक्ति रहेको पाइएको छ । विभागका अनुसार पेन्ट उद्योगको कुल बिजुली माग १४.५ मेगावाट छ ।

हाल भइरहेको ५९ प्रतिशतको उत्पादन क्षमतालाई ८०–९० प्रतिशतसम्म पु¥याउन सक्ने वातावरण बनाउन सकेमा आउँदो ५÷६ वर्षलाई समेत कच्चा पदार्थ विदेशी भए तापनि पेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर हुने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *