जलवायु परिवर्तनको असर : पृथ्वीको तापक्रम वृद्धि अहिलेकै अवस्थामा रहे पानीको मात्रा बढ्ने

काठमाडौं, २३ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुन सक्ने विज्ञहरूले औंल्याएका छन् । स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले हालै आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आठ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुन सक्ने औंल्याएको राससमा उल्लेख छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना पनि जलवायु परिवर्तनको प्रभावले भएको विज्ञ ढकालले बताए । उनका अनुसार नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरूको मुख्य कारण नै जलवायु परिवर्तन हो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब तीन हजार २५२ हिमनदी र दुई हजार ३२३ हिमताल छन् । धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ भने २० वटा हिमताल जोखिममा छन् । विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदी द्रुत गतिमा पग्लिँदै गएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चका अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शुन्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक तीन प्रतिशतले घटिरहेको छ । यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *