मौद्रिक नीतिको अन्तिम तयारी : सहुलियत र छुटमा मध्यमार्गी बाटो खोज्दै राष्ट्र बैंक
काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीतिका लागि उद्योग व्यवसायी, बैंकर्स एवम् सरोकारवाला निकायहरुसँग सुझाव माग गर्नुका साथै छलफललाई समेत निरन्तरता दिइरहेको छ । सो क्रममा कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानमै सबैको जोड छ । त्यसका लागि सहुलियतदरमा कर्जा उपलब्ध गराउनुपर्ने, कर्जा भुक्तानीको अवधी थप गर्नुपर्ने लगायतका माग राखेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । अब छिटै छलफल सकेर साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी केन्द्रिय बैंकले मौद्रिक नीति निर्माण गर्ने गर्छ । कोरोनाका कारण व्यवसायीक क्षेत्र निकै प्रभावित छ । दोस्रो लहर र त्यसको नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाले थप प्रभावित भएको भन्दै आगामी वर्षको मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको सुझाव छ।
यस्तै बैंक तथा वित्तीय क्षेत्रबाट पनि सहुलियत माग गरिएको छ। कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा बैंकिङ क्षेत्र अछुतो रहने कुरै भएन । त्यसकारण अन्य क्षेत्रलाईसँग–सँगै बैंकिङ क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ सहुलियत एवम् छुट दिनुपर्ने नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यको सुझाव छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका व्यवस्थाका कारण अर्थतन्त्र चलायमान बनाउन निकै महत्वपूर्ण रहेपनि वर्षको अन्ततिर फेरी फैलिएको संक्रमणले अर्थतन्त्र पुनः प्रभावित भएको छ। अबको मौद्रिक नीतिले पनि विगतको जस्तै नीति लिएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारको माग छ । त्यसका लागि चालू वर्षको मौद्रिक नीति मार्फत लागू गरिएको अधिकांश व्यवस्थाहरुलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
तर राष्ट्र बैंक भने चालू वर्षमा दिईएका छुट एवम् सहुलियतहरुलाई पुनः सोही स्वरुपमा निरन्तरता दिने मनस्थितीमा छैन् । मौद्रिक नीति मार्फत दिएका औजारहरु पुनः दिएर संरक्षण गर्दा वित्तीय प्रणालीमा जोखिम निम्तने तर्फ राष्ट्र बैंक सचेत रहेको भन्दै कार्यकारी निर्देशक श्रेष्ठले सन्तुलित ढंगबाट मध्यमार्गी बाटो खोज्ने जानकारी दिए ।