आन्तरिक हवाई सेवा पूर्णरूपमा सञ्चालन हुने, अन्तर्राष्ट्रिय उडान थपिँदै
काठमाडौं, २६ असार । मुलुकको आन्तरिक हवाई सेवा पूर्णरूपमा सञ्चालन हुने भएको छ भने अन्तर्राष्ट्रियतर्फ उडान थपेर नियमित सञ्चालन गरिने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउँदै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको छ । साथै हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान संख्या थप गरी नयाँ तालिका क्यानलाई पठाएको छ ।
क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार विमानस्थल कार्यालय र एयरलाइन्सबीच बैठक बसेर उडान पूर्ण सञ्चालनको तालिका बनाइनेछ । वायु सेवा सञ्चालकको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकार समक्ष माग गर्दै आएको थियो ।
यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान संख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो । यही असार १७ देखि नियमित आन्तरिक उडान शुरू भएको थियो । मुलुकमा निषेधाज्ञा लागू भए पनि गत वैशाख २० देखि आन्तरिक उडान स्थगन गरिएको थियो ।
यसैगरी अब सातामा कुल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गर्ने निर्णय गरेको बताइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजावाहकले गर्नेछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधवार र एयर इण्डियाले सोमवार गर्नेछन् ।
यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मंगलवार र बिहीवार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतवार, मंगलबार र बिहीपार उडान भर्नेछन् । फ्लाइ दुबईले आइतवार, बुधवार र शुत्रवार एक÷एक उडान गर्नेछ ।
क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुवार र शनिवार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीवार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ ।
जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमवार, मंगलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा आइतवार र मंगलवारको उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतवार काठमाडौं उडान गर्नेछ ।