Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाललाई यस कारण इजरायल जस्तो बनाऔं

नेपाललाई यस कारण इजरायल जस्तो बनाऔं

सुशील श्रेष्ठ, व्यवसायी :
हामीले बाल्यकालदेखि सुन्दै आएका हौं, ‘नेपाललाई सिंगापुर जस्तो, स्वीट्जरल्याण्ड जस्तो बनाउने’ भन्ने चर्चा । तर विडम्बना, देशको शासन व्यवस्था एकतन्त्रीय पञ्चायती व्यवस्थाबाट गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा उन्नति प्रगतिको ब्यारोमिटर जहाँको त्यही अड्किएको छ ।
भनिन्छ– विश्वभर प्रयोगमा आएका अधिकांश राजनीतिक व्यवस्थाहरू खराब छन् । तीमध्ये केही राम्रो प्रजातान्त्रिक व्यवस्था हो । प्रजातन्त्र उदयपछि ७० वर्षको यो अन्तरालमा हामीले सबै व्यवस्था हेरिसक्यौं, भोगिसक्यौं । व्यवस्था त फेरियो, तर हाम्रो व्यवहार भने फेरिएन ।
समयले कोल्टे फेर्दै छ । परिवर्तनशील छ संसार । यसँगै विश्वको मानचित्रमा नव शक्तिराष्ट्रहरूको उदय निश्चय नै सम्भव छ । हाम्रो सौभाग्य भन्नुपर्छ, हाम्रा छिमेकी मित्रराष्ट्रहरू चीन र भारत यस दौडका प्रबल दाबेदार हुन् ।

पृथ्वीनारायण शाहले भनेका थिए, ‘नेपाल दुई ढुंगाबीचको तरुल हो ।’ यस्तो भौगोलिक अवस्थितिमा रहेको नेपाललाई समुन्नत बनाउन अब सिंगापुर र स्वीट्जरल्याण्ड बनाउने नाराले मात्रै होइन, इजरायल जस्तो बनाउने सोचले विकास र समृद्धिका नयाँ अवसरहरूको खोजी गर्नुपर्छ । समृद्धि हासिल गर्नु भनेको धनी हुनु मात्र होइन, हरेक क्षेत्रमा निपुण र दक्ष हुनु पनि हो ।

प्रकृतिले दिएको अनन्त स्रोत र साधनहरू हुँदाहुँदै पनि हामीले लामो समय राजनीतिक व्यवस्था परिवर्तनहरू र अलमलमै समय खर्चियौं । अब हाम्रा वर्तमान आवश्यकता, अवसर र चुनौतीहरूको सही पहिचान गरी मुलुकलाई विकास र समृद्धिको सही बाटोमा डो¥याउनुको विकल्प छैन ।
चीन र भारतको आर्थिक विकास हाम्रा लागि ठूलो अवसर हो । यो अवसरको भरपूर लाभ लिनबाट हामी चुक्नुहुँदैन । हामीले विगतमा गरेका व्यापार तथा पारवहन सन्धिहरू अहिलेको समयसाक्षेप फाइदाजनक छ÷छैन, विचार विमर्श गर्नु पनि जरुरी छ ।
सिंगापुरको विकासबाट विश्वका धेरै मुलुक चकित छन् । हामी भने सिंगापुरको गगनचुम्बी भवन, चिल्ला सडक र राम्रा गाडी हेर्दैमा अल्मलिएका छौं । सिंगापुरको जस्तो आर्थिक उन्नति हासिल गर्ने हो भने हामीले दुईवटा कुराको मात्रै गहन अध्ययन गरे हुन्छ । पहिलो– त्यहाँको वित्तीय क्षेत्रको व्यवस्थापन, दोस्रो– वैदेशिक व्यापार नीति र व्यवस्थापन ।

नेपालसँग यी दुवैको राम्रो अवसर छ । यसका लागि हामीले उत्तर र दक्षिणतिरको विशाल बजारको सेतुको काम गर्नु पर्दछ । सिंगापुर जस्तो सानो राष्ट्रले तेस्रो मुलुकसँगको पारवहन व्यापारबाट मात्रै एक÷दुई प्रतिशतको नाफामा वार्षिक खर्बौं डलर आर्जन गर्दछ । त्यस्तै बैंकिङ र फाइनान्सियल हब भएर एसिया मात्रै होइन, विश्वकै बैंकिङ केन्द्र भएको छ । यसका लागि हाम्रो भूपरिवेष्टितताले व्यवधान हुनेछैन ।

चीन र भारतको नयाँ सम्बन्ध हाम्रा लागि सुनौलो अवसर हो । हामीले असल छिमेकी राष्ट्रहरूको विश्वास लिन सक्नुपर्दछ । हाम्रा मौद्रिक नीति, बैंकिङ र वित्तीय नियमहरू आन्तरिकका साथै छिमेकी राष्ट्रमैत्री बनाउँदै लगे आउँदा दिनहरूमा हाम्रा अगाडि धेरै राम्रा अवसर सृजना हुनेछन् । नेपाललाई दुई विशाल बजारहरूको वित्तीय केन्द्र बन्ने मौका हुन सक्छ ।

हाम्रो देशसँग भौगोलिक बनावटमा धेरै समानता राख्ने स्वीट्जरल्याण्डको समृद्धि लोभलाग्दो छ । भूपरिवेष्ठित राष्ट्र भएर पनि उक्त मुलुकले हासिल गरेको समृद्धि हाम्रा लागि प्रेरणा हो, तर हामी नारामा मात्रै सीमित भयौं । हामीले स्वीट्जरल्याण्डबाट सिक्नुपर्ने पाठहरू– छिमेकीसँगको सम्बन्ध, सीमा व्यवस्थापन, प्रोडक्टको छनौट, ब्राण्डिङ र व्यवस्थापन हुन् । हामीले आज पनि यसलाई अवलम्बन गर्न सक्यौं भने हाम्रो आर्थिक वृद्धिमा ठूलो टेवा पुग्नेछ ।

स्वीट्जरल्याण्डले पाँच सय ग्राम जति तौल भएको फलामे नाडी घडी विश्वबजारमा लाखौं मूल्यमा व्यापारका साथै हवाईमार्गबाट ढुवानी गर्दा पनि उच्च प्रतिफल प्राप्त गर्दछ । यो हाम्रा लागि राम्रो अध्ययन र खोजीको विषय हो । केही वर्षअगाडि सगरमाथाको डुंगा जडित घडीको उत्पादनलाई हामीले संरक्षण र प्रवद्र्धन गर्न सकेनौं । हिन्दु बाहुल्य रहेको छिमेकी राष्ट्र भारतलाई लक्षित गरी शालिग्राम र रुद्राक्ष जडित घडीको ब्राण्डिङ गरे व्यापारको राम्रो अवसर हुन सक्छ ।

विश्व आज अघोषित छद्म द्वन्द्वको शिकार भइरहेको छ । हरेक आर्थिक सम्पन्न राष्ट्रहरू आफूलाई सामरिक शक्तिशाली बनाउने होडमा लागेका छन् । लाग्छ, आज आर्थिक विकास र सामरिक शक्ति पर्यायवाची हुन् । शत्रु राष्ट्रहरूको बीचमा आर्थिक र सामरिक शक्ति सम्पन्न राष्ट्रको रूपमा आफूलाई परिचित गराउन सानो राष्ट्र इजरायल सफल भएको छ । अति आधुनिक प्रविधिको प्रयोग कृषिदेखि स्याटेलाइटसम्मको विकासमा उच्चतम सफलता हासिल गरेको छ । आणविक शक्तिको प्रयोग मानव सभ्यताको राम्रो पक्षका लागि मात्र गरेर अनि सामरिक शक्तिबाट आफूलाई चाल्र्स डार्विनको सिद्धान्त ‘सबल र सक्षम नै बाँचिरहन्छ’ भन्ने चरितार्थ गरेको छ ।

सन् १९४७ मा छुट्टै स्वतन्त्र राष्ट्रको रूपमा स्थापना भएको इजरायलको आज विश्वमा नयाँ प्रविधिको अविष्कारमा पहिलो स्थान छ । सबैभन्दा ठूलो हिराको थोक बजार, नासड्याकमा अमेरिका र चीनपछि तेस्रो स्थानमा सबैभन्दा धेरै लिस्टेड कम्पनीहरू भएको, अमेरिकापछि धेरै स्टार्टअप भएको विश्वमा दोस्रो र सैन्य क्षमतामा आठौं ठूलो देशको रूपमा आज इजरायलको पहिचान छ ।

नेपाल सदियौंदेखि कृषिप्रधान देश हो । कुनै समय हामी कृषि उपज निर्यात गरेर वैदेशिक व्यापार गर्दथ्यौं । आज यो अवस्था उल्टो छ । अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्दछौं । वैदेशिक व्यापार ऋणात्मक छ । प्रतिव्यक्ति ऋण वार्षिक थपिँदै गएको छ ।

विश्वको जुनसुकै राजनीतिक व्यवस्था भएको देशमा पनि विकास र समृद्धि हासिलको पहिलो शर्त आर्थिक उन्नति र प्रगति नै रहेछ भन्ने कुरा हाम्रा छिमेकी मित्र राष्ट्रहरूबाट बोध गर्न सकिन्छ । शक्ति सञ्चय जहिले पनि नकारात्मक मात्रै हुँदैन, आफ्नो उच्च मनोबल र सबल रक्षात्मक प्रणालीको पहिचान पनि हुन्छ । त्यसैले हाम्रो नारा फेरौं, देशलाई अब इजरायल जस्तो विकसित, समृद्ध र शक्तिशाली बनाऔं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x