Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोभिडको जोखिमकै बीच सामान्य बन्दै जनजीवन, कामपामा बढ्यो संक्रमण दर

कोभिडको जोखिमकै बीच सामान्य बन्दै जनजीवन, कामपामा बढ्यो संक्रमण दर

काठमाडौं, ३ साउन । कोभिड प्रभावित मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ । वैशाख÷जेठमा अत्यधिक फैलिएको दोस्रो लहरको संक्रमण सुस्त हुँदै जाँदा सम्भाव्य जोखिमकै बीच जनजीवन सामान्य अवस्थातिर उन्मुख भएको छ ।

जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पछिल्ला तथ्यांकले कोभिड–१९ को जोखिम भने कायमै रहेको देखाएको छ । शुरूमा एक्कासि माथि उठेर तल झरेको संक्रमणको ग्राफ पुनः उकालो लाग्न थालेको छ ।

गृह मन्त्रालयबाट अनुसार ५८ जिल्लामा मात्रै निषेधाज्ञाको आदेश कायम छ । बाँकी १७ जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् । क्रमशः निषेधाज्ञा हटाउने क्रम जारी छ । यद्यपि पछिल्लो समयमा भने संक्रमणदर मन्द गतिमा बढेकाले जोखिम कायमै रहेको स्वास्थ्यविज्ञहरूको भनाइ छ । निषेधाज्ञा लागू भएका जिल्लाले समेत अति भिडभाड हुने गतिविधिबाहेकका क्रियाकलाप खुला गर्दै लगेका छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोभिड नियन्त्रणमा आएर निषेधाज्ञा खुकुलो बनाएको नभइ, जनजीवन सामान्य बनाउन सावधानी अपनाएर खुकुलो बनाएकाले सावधानी जरुरी रहेको बताउनुभयो ।

जेठ अन्तिमबाट विस्तारै संक्रमण घटेपछि निषेधाज्ञा पनि खुकुलो पारिएकोमा मानिसको चहलपहल र लापरवाही बढ्न थालेपछि अहिले मन्द गतिमा संक्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखले देखाउँछ ।

यस्तै काठमाडौं महानरपालिका (कामपा)मा समेत संक्रमणदर बढ्दै गएको पाइएको छ । एक हप्ता अघिसम्म संक्रमण दर ९ प्रतिशतमा झरेकोमा हाल २० प्रतिशत पुगेको छ ।

निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा संक्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको संख्या बढेको हो । संक्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।

‘पछिल्लो समय कामपामा संक्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै संक्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ,’ जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x