Shangrila

एक वर्षमा एक हजार व्यापारिक फर्म कारबाहीमा

काठमाडौं, ६ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७÷७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म÷कम्पनी तथा उद्योग कारबाहीमा परेका हुन् ।

एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो । विभागको तथ्यांकअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना संकलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो ।

कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत २ करोड ३९ लाख ८२ हजार बराबर राजस्व संकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

विभाग अन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी)ले गत आवमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारवाही गरेका छन् । ती फर्मलाई कारवाहीस्वरूप जरिवाना गर्दा एक वर्षको अवधिमा तीन करोड ३३ लाख ७० हजार राजस्व संकलन भएको छ । चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोबार रोक्का गरिएको थियो । साथै तीन करोड ९८ लाख ५३ हजार २५९ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *