वैदेशिक व्यापारमा धेरै योगदान दिने प्रमुख भन्सारहरू, कसको हिस्सा कति ?
काठमाडौं, १३ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालको वैदेशिक व्यापार ऐतिहासिक रह्यो । सो वर्ष कुल १६ खर्ब ८० अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार हुँदा आयात मात्रै १३ खर्ब ९८ अर्ब ७१ करोड भयो, जुन गत अघिल्लो आवको भन्दा २७ प्रतिशतले बढी हो । सोही अवधिमा निर्यात व्यापार समेत उच्च परिमाणमा बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको भयो ।
उक्त रकमको वैदेशिक व्यापार हुँदा सबैभन्दा धेरै हिस्सा योगदान दिएका भन्सारहरूमा भने क्रमशः वीरगञ्ज, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची, भैरहवा, वीरगञ्ज सुक्खा बन्दरगाह र नेपालगञ्ज भन्सार कार्यालय रहेका छन् ।
वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार एक्लैको ३८ प्रतिशत योगदान रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । एक वर्ष अवधिमा यो भन्सारबाट ५ खर्ब ११ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा ५३ अर्ब ६७ करोडभन्दा बढीको निर्यात भएको छ ।
वैदेशिक व्यापारमा २६ प्रतिशत हिस्सासहित दोस्रो ठूलो योगदान विराटनगर भन्सारको रहेको छ । यो भन्सारबाट गत आवमा १ खर्ब ८९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने ३६ अर्ब ७६ करोड रुपैयाँको वस्तु निकासी भएको छ ।
यसैगरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक व्यापारमा १८ प्रतिशत योगदान रहेको देखिन्छ । एक वर्ष अवधिमा यो भन्सारबाट १ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा २५ अर्ब ४१ करोडभन्दा बढीको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
वैदेशिक व्यापारमा धेरै हिस्सा ओगट्ने यसपछिका भन्सारहरूमा मेची भन्सार (८ प्रतिशत), भैरहवा भन्सार (४ प्रतिशत), वीरगञ्ज सुक्खा बन्दरगाहा (१.९० प्रतिशत) र नेपालगञ्ज भन्सार (१.५९) प्रतिशत रहेका छन् ।